सोलु हाईड्रोपावरलाई सेयर निष्कासन सम्बन्धि निर्णय सच्याउन चौतर्फी दबाब



सोलुखुम्बु,३० कार्तिक ।सोलु हाइड्रोपावर (८२ मेगावाट) ले शेयर निष्कासन सम्बन्धि सूचना जारी गरेपछि त्यसबिरुद्ध तीब्र आक्रोश व्यक्त भइरहँदा जिल्लाको नेचासल्यान गाउँपालिकाले बिभेदकारी निर्णय सच्याउन माग गर्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।  

गाउँ कार्यपालिकाको निर्णयसहित पांँचै वडाका वडाध्यक्ष र उपाध्यक्ष बिना राईको नेतृत्व गर्दै आइतबार सदरमुकाम सल्लेरीस्थित जिल्ला प्रशासन कार्यालय पुगेका गाउँपालिका अध्यक्ष राईले प्रमुख जिल्ला अधिकारी पाण्डे खत्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै हाइड्रोसँग समन्वय गरेर पालिकाका नागरिकको गुनासो र समस्या समाधान गरिदिन आग्रह गरेका थिए। सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकाका केही वडालाई मात्रै अतिप्रभावित क्षेत्रमा समेटेर नेचासल्यानलाई उपेक्षा गरिनु अन्याय र बिभेदकारी भएको उल्लेख गर्दै अध्यक्ष राईले बुझाएको ध्यानाकर्षण पत्रमा कम्पनीले सेयर निश्कासन सम्बन्धि निर्णय सच्याएर नेचासल्यानलाई समेत त्यसमा नसमेटे असामान्य परिष्थिति सृजना हुन सक्ने चेतावनी दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले हाईड्रोले सेयर निस्कासन सम्बन्धि सूचना जारी गरेपछि उत्पन्न समस्याको कम्पनीका प्रतिनिधिसहित सर्बपक्षीय छलफल मार्फत निकाश खोज्ने प्रतिबद्धता जनाएको अध्यक्ष राईले जानकारी दिए ।

आजै मात्रै नेचासल्यानमा क्रियाशील प्रमुख तीन दलले बिज्ञप्ति जारी गरेर तत्काल निर्णय सच्याउन कम्पनीलाई आग्रह गरेका थिए।

यता, कम्पनीले सेयर निस्कासन सम्बन्धि सूचना जारी गरेपछि त्यसबिरुद्ध चरणबद्द आन्दोलनका लागि संघर्ष समिति गठन गरेका काठमाडौंमा बसोबासरत नेचासल्यानबासीले कम्पनीको केन्द्रीय कार्यालय, धितोपत्र बोर्ड नेपाल, विद्युत नियमन आयोग,नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेड,हिमालयन क्यापिटल लिमिटेड
मा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेचासल्यान गाउँपालिकालाई अति प्रभावित क्षेत्र भित्र समावेस गरि सम्पुर्ण सोलुखुम्बु जिल्लावासी नागरिकले समेत पाउने गरि शेयर निस्कासन प्रकृया पुनः सच्चाएर मात्र अगाडि बढाउनु पर्ने उनीहरूले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

संघर्ष समितिले कम्पनीका अध्यक्ष सुबाश चन्द्र संघाईसंग भोलि छलफल गर्ने जनाएको छ।

यसैगरी,नेपाली कांग्रेस प्रदेश ‘क’ का सचिबद्व्य बिजय गुरुङ र हेम भट्टराई,नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले पनि बिभेदकारी निर्णय अमान्य भएको बताउँदै यसलाई सच्याएर पुनः सेयर निस्कासन प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

आगामी मङ्सिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी पूरा गरेको सोलु हाइड्रोपावरले १० अर्ब रुपैयाँ जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ । त्यसमध्य १ करोड कित्ता आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ । तीमध्ये ४० लाख कित्ता सोलुदुधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङदुधकोशी गाउँपालिका–१ का अति प्रभावित बासिन्दाका लागि र बाँकी ६० लाख कित्ता अन्य वडाका स्थानीयका लागि रहने कम्पनीले कार्तिक २७ गते प्रकाशित गरेको सूचनामा उल्लेख छ ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि कुल सर्वसाधारण भागको १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर छुट्टाइएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्