सोलु हाइड्रोपावरले बिभेदकारी सूचना सच्याउनुपर्छ: पूर्व राज्यमन्त्री बस्नेत
सोलुखुम्बु,३० कार्तिक ।नेकपा एमालेका नेता एबम् कोशी प्रदेशका पूर्बराज्यमन्त्री उत्तमकुमार बस्नेतले सोलु हाइड्रोपावर कम्पनी (८२ मेगावाट) ले सेयर निष्कासन सम्बन्धि हालै जारी गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसलाई सच्याउन आग्रह गरेका छन् ।

कार्तिक २७ गते धितोपत्र बोर्डमार्फत प्रकाशित गरेको प्रभावित क्षेत्रसम्बन्धि सूचनाप्रति सोलुखुम्बु जिल्लाबासीहरुले तीव्र आक्रोश व्यक्त गरिरहेका बेला पूर्बराज्यमन्त्री बस्नेतले संबादमार्फत न्यायोचित ढंगले समाधान खोज्न आयोजनालाई आग्रह गरेका हुन् ।
साधारण सेयर सम्बन्धि जारी सूचना बिभेदकारी र जिल्लाबासीको अधिकारविपरीत रहेको उनको भनाई छ। ‘यो विषयमा उत्पन्न असन्तोष समाधानका लागि आयोजनाले तत्काल संवादका माध्यमबाट न्याय, सहभागिता र समान अधिकारका आधारमा समाधान खोज्नु पर्छ’,उनले भनेका छन् ।
कम्पनीले प्रभावित क्षेत्र निर्धारण गर्दा दीर्घकालीन अभ्यास, स्थानीय सहभागिताका मान्यता तथा अन्य हाइड्रोपावर परियोजनाका पूर्व उदाहरणहरूलाई बेवास्ता गर्दै सोलुखुम्बुवासीलाई प्रभावित क्षेत्रबाट अलग राख्न खोजेको उनको आरोप छ ।
बस्नेतले सोलुखुम्बुका प्राकृतिक स्रोतसाधनको उपयोगबाट निर्माण भइरहेको परियोजनामा जिल्लाबासीको हकअधिकार कटौती नहुने गरी स्थानीय र जिल्लाबासीले पाउनुपर्ने अग्राधिकार सुनिश्चित गर्न तथा
जनताका मागलाई छिटो,पारदर्शी र जिम्मेवार ढङ्गले सम्बोधन गर्न आयोजनालाई आग्रह गरेका छन् ।’सोलुखुम्बुवासीलाई सम्बोधन गर्ने न्यायपूर्ण निर्णयले मात्र दीर्घकालीन रूपमा सबै पक्षलाई हितकारी परिणाम दिनेछ’ उनले भनेका छन् ।

