सोलु हाइड्रोपावरको मनोमानीबिरुद्ध नेचासल्यानबासी आन्दोलित,स्थानीयलाई गाउँपालिकाकै साथ
सोलुखुम्बु,२९ कार्तिक । सोलु हाइड्रोपावर लिमिटेड, (८२ मेगावाट) ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भन्दै मंसिर ७ गते साधारण सेयर निष्कासन गर्ने सूचना जारी गरेपछि छिमेकी गाउँपालिका नेचासल्यानबासीले आन्दोलित हुन् थालेका छन् ।

आयोजनाका कारण सबैभन्दा बढी प्रभावित नेचासल्यान हुने भएपनि षड्यन्त्र मूलक ढंगबाट वातावरण प्रभाव मूल्यांकन प्रतिबेदनका आधारमा भन्दै कम्पनीले सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका निश्चित वडाहरुलाई मात्र प्राथमिकतामा राखेर सेयर निष्कासन गरेपछि स्थानीय आन्दोलित भइ रहेका बेला नेचासल्यान गाउँपालिकाले संस्थागत रुपमै असन्तुष्टि जनाएर उनीहरुलाई साथ दिएको छ ।
पालिका अध्यक्ष धनजन राईले नै एक बिज्ञप्तिमार्फत सोलु खोला नै संचालन श्रोत रहेको अपर सोलु र मिड सोलु आयोजनाले नेचासल्यानलाई प्रभाबित क्षेत्र मानिसकेको तथ्य स्मरण गराउँदै अध्यक्ष राईद्वारा जारी बिज्ञप्तिमा सोलु हाइड्रोले गाउँपालिकाप्रति गरेको अन्यायपूर्ण निर्णय तत्काल नसच्याईए गाउँपालिका क्षेत्रभित्रका राजनीतिक दल, नागरिक समाज र सरोकारवाला नागरिक सहितको सहभागितामा दवावमूलक कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिएका छन्।
अध्यक्ष राईले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,-‘ ८२ मेघावाटको जलविद्युत् आयोजना नेचासल्यान गाउँपालिका क्षेत्रभित्रको खाल्पा, सल्यान, सहेंले, चुर्पुघाट हुँदै तुइनटार क्षेत्र भएर बग्ने सोलु खोलालाई यस गाउँपालिकाको वडा नं २ भन्दा माथिको भूगोलबाट नदी पथान्तर गरी गाउँपालिका क्षेत्र बाहिर सञ्चालन भएको उक्त हाइड्रोपावरका कारण यस गाउँपालिका क्षेत्रको साबिक विशाल सोलु खोलाको पानी हाल अत्यन्त न्यून भई यस गाउँपालिका क्षेत्रका जलचर-थलचर प्राणी, वनस्पति र मानव जीवन लगायत समग्र वातावरणमा दीर्घकालीन रूपमा प्रतिकूल असर पर्न गएको र जलवायु परिवर्तनको असरमा थप मलजल पुर्याएको र यदाकदा खोलामा आकस्मिक रूपमा पानीको बहाव छोड्दाको अवस्थामा निम्तिने प्रकोप आदिको भयावह स्थितिलाई नजर अन्दाज गरी उक्त कम्पनीले मिति २०८२-०७-२७ गते सार्वजनिक गरेको सूचनामा यस गाउँपालिकाको कुनै पनि क्षेत्रलाई आयोजनाको अति प्रभावित र प्रभावित क्षेत्र भित्र नसमेटिएको विषयमा यस गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’
उता, कम्पनीले जारी गरेको सूचना सच्याएर नेचासल्यानलाई समेत प्रभावित क्षेत्रमा समेट्ने कुरामा वेवास्ता गरिए त्यसविरुद्ध कडा आन्दोलन गर्ने नेचासल्यानबासीले दिएका छन् । त्यसको तयारीका लागि स्थानीयस्तरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका प्रबक्ता चन्द्र आचार्य नेतृत्वको टोलीले शनिबार आयोजनाको सम्पर्क कार्यालय तिंङ्लामार्फत प्रमुख कार्यकारी अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् भने काठमाडौंमा २९ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

यसैगरी,काठमाडौँमा भएको नेचासल्यानका युवाहरूको भेलाले हाइड्रो प्रभावितमा नेचा सल्यान गाउँपालिका सहित जिल्लाभरका सर्वसाधारणले आईपिओको लाभ लिन पाउने गरी शेयर निष्कासन माग राख्दै आइतबार नेपाल धितोपत्र वोर्डको कार्यालय, सोलु हाइड्रोपावर लिमिटेड कम्पनीको केन्द्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको नेबिसंघका केन्द्रीय सदस्य दिनराज बास्तोलाले जानकारी दिए ।

आचार्य नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा नेचासल्यानबासीको मुख्य श्रोत सोलुखोलाबाट ठुलो धनराशि खर्चिएर लिफ्टिङ प्रविधिको खानेपानी आयोजना संचालन भैरहेको, नेचाको तुइन्टार तथा सल्यानको त्रिवेणीबाट लघु जलविद्युत आयोजना संचालन भैरहेको तथा हाम्रो पर्यावरणीय आधार सोलुखोला नै भएको तथ्य सबैका सामु छर्लङ्ग हुँदाहुँदै सेयर प्रदान गर्ने क्षेत्रमा नेचासल्यान गाउँ पालिका समावेश नगर्नु अत्यन्तै खेदजनक रहेको उल्लेख गर्दै जिल्लामा अन्य विद्युत आयोजनाले सेयर प्रदान गरेको नजिरका आधारमा गर्ने गरी सूचना सच्याउन आग्रह गरिएको छ ।
सोलु खोलाबाट सञ्चालन भएका अपर सोलु हाइड्रो एवं सोलुखोला दुधकोशी हाइड्रोपावरले प्रभावित क्षेत्रका लागि कायम गरेको नजिरका आधारमा सेयर बाँडफाँडको प्रक्रिया अघि नबढाए संघर्षका चरणबद्ध कार्यक्रम तय गरि अगाडी बढ्दा हाइड्रोको बिद्युत उत्पादन लगायतका कामहरू अवरुद्ध भएमा आयोजना स्वयं त्यसको जिम्मेबार हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
यस अघि मिड सोलुले ७ लाख ४८ हजार कित्ता र साहसउर्जाले ३५ लाख कित्तामा सोलुखुम्बु जिल्लाभरिलाई स्थानिय प्रभावितमा समेटेर साधारण सेयर निस्कासन गरेको थियो ।
सोलु हाइड्रोपावरले भने आगामी मङ्सिर ७ गतेदेखि आइपिओ निष्कासन गर्ने तयारी पूरा गरेको छ । कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको जनाएको छ । जसमा १ करोड कित्ता आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ । तीमध्ये ४० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित बासिन्दाका लागि तोकिएको छ भने बाँकी ६० लाख कित्ता सोही पालिका भित्रका अन्य वडाका स्थानीयका लागि रहनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि कुल सर्वसाधारण भागको १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर छुट्टाइएको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिनेछ ।

