महाधिवेशन प्रक्रिया तत्काल सुरु गर्न कांग्रेसका देउवा पक्षीय २५ केन्द्रीय सदस्यको माग



काठमाडौँ,२८ कार्तिक । फागुन २१ गतेको प्रतिनिधि सभा चुनावअघि महाधिवेशन माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २५ जना केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यले महाधिवेशनको प्रक्रिया सुरु गर्न ७ बुँदे ध्यानाकर्षणपत्र दर्ता गराएका छन् ।

ध्यानाकर्षण पत्र दर्ता गराउने केन्द्रीय सदस्यहरुमा आङगेलु शेर्पा,उदय शम्सेर राणा,अमृत अर्याल,राजेन्द्र कुमार श्रेष्ठ,भरत कुमार शाह,अर्जुनप्रसाद जोशी,गणेश लामा,डा.डिला संग्रौला,नानु बास्तोला,धना खतिवडा,अब्दुल रज्जाक,देवेन्द्र राज कंडेल,योगेन्द्र चौधरी,गोपाल दहित,बहादुर सिंह लामा,दिलमान पाख्रीन.अबदुल सत्तार,मोहन आचार्य,रामजनम चौधरी लगायत छन् ।उनीहरूले शुक्रबार पार्टी कार्यालय सानेपामा दर्ता गराएको ध्यानाकर्षणपत्रमा समयसीमा निर्धारण गरी क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता टु‌ङ्ग्याउनुपर्ने माग गरेका छन्।

असोज २८ गतेदेखि कात्तिक २७ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा महाधिवेशन गरेर मात्रै चुनावमा जानुपर्ने धारणा राखेका उनीहरूले ध्यानाकर्षण पत्रमा आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाइ लागू गर्नुपर्ने उनीहरूले उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ ।

युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको आन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ ।

आज केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ। विशेष महाधिवेशन माग गरेकाहरूले आजै युवा भेला पनि गर्दैछन्। बिहीबारको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्न नमानेकोले अब मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्न प्रस्तावसमेत गरेका छन्।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्