मधेस प्रदेश सभामा भाँडभैलो,उपसभामुखले उल्ट्याईन सभामुखले गरेको कारबाही
जनकपुरधाम,२८ कात्तिक। मधेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन् ।

उनले सूचना जारी गरेर पदमुक्त भएका भनिएका पाँच जना प्रदेश सभा सदस्यको कारबाही बदर भएको जनाएकी छन् ।
सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त भएको सूचना विहीबार जारी गरेका थिए ।
विहीबार नै उपसभामुख बबिता कुमारीले जारी गरेको सूचनामा उनीहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको हाजिरी र भिडियो रेकर्ड रहेको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख छ ।
सात वटा दलले हिजो सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि कारबाहीस्वरुप सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका हुन् ।
कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको,एक दलको निर्देशनबमोजिम समाभुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै सात दलले सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

