जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता



काठमाडौँ,२७ कार्तिक । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ।

गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपी पदको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। दर्ज्यानी चिन्ह लगाइसकेपछि कार्कीले मन्त्रालयमै आयोजित कार्यक्रममा लामो सम्बोधन गर्दै नेपाल प्रहरीलाई सुदृढ र पेशागत बनाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेनजी प्रदर्शनपछि देखिएको साहस र सहनशीलता प्रहरीको शक्ति भएको उनले बताए । उनले भने– ‘जसले हामीमा सामूहिक रूपमा जस्तोसुकै समस्या चुनौती पनि समाधान सामना गर्न सक्नेछौँ भन्ने दृढ विश्वास जगाएको छ ।’

जेनजी आन्दोलन लगत्तैको प्रतिकूल परिस्थितिमा पनि सुरक्षा कुनै रिक्तता रहन नदिई तत्काल नागरिकको सेवामा प्रहरी परिचालित भएको उल्लेख गर्दै कार्कीले भने– ‘छोटो समयमा प्रहरी संरचना र सेवा पुनर्स्थापित गर्ने सन्दर्भमा भएको उत्साहजनक प्रगतिले नेपाल प्रहरीको सकल दर्जाको उत्कृष्ट सेवाभाव कर्तव्यप्रतिको प्रतिबद्धता र सहनशीलतालाई फेरि एकपटक पुष्टि गरेको छ ।’

वित्तीय अपराध र साइबर प्रहरीको लागि नयाँ चुनौती भएको उनले बताए । कार्कीले भने– ‘हाइटेक क्राइमको अनुसन्धान र व्यवस्थापन गर्नुपर्ने विविध प्रकृतिको अवस्थाबाट गुज्रिनुपर्ने अवस्था छ ।’

प्रहरीको मनोबल जगाइराख्नुपर्ने अवस्था टड्कारो रहेको कुरा सबैले अनुभूत गरेको विषय रहेको उल्लेख गर्दै कार्कीले भने– ‘आधारभूत पोषण प्रहरीलाई अपर्याप्त रहेको विषय आजको दिनसम्म सबैले बुझेको विषय हो ।’

प्रतिक्रिया दिनुहोस्