थुलुङ दुधकोशीमा सञ्चालित बृहत नि:शुल्क स्वास्थ्य शिबिरमा १ हजार ८ सय बढीले लिए सेवा



सोलुखुम्बु,२६ कार्तिक । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गाउँपालिकाको केन्द्र मुक्लीस्थित बीरेन्द्र ज्योति माध्यमिक विद्यालयमा सञ्चालित चारदिने स्वास्थ्य शिबिर मंगलबार सम्पन्न भएको हो।

गाउँपालिकाको समन्वयमा तथा कादुरी एग्रिकल्चरल एड एशोसिएसनको आयोजनामा सञ्चालित शिबिरबाट १ हजार ८ सय ५० जना स्थानीय लाभान्वित भएको आयोजक कादुरी एग्रिकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपालका क्याप्टेन राजन राईले जानकारी दिए ।

शिबिरमा थुलुङ दुधकोशी गाउँपालिकाका बासिन्दा मात्र नभई छिमेकी सोताङ गाउँपालिका,सोलुदुधकुण्ड नगरपालिका,नेचासल्यान गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाका नागरिकहरूले समेत सेवा लिएका थिए ।

शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया, दाँत उपचार तथा झिक्ने सेवा, साथै रगत, पिसाब, मुटुको ईसीजी, भिडियो एक्स–रे लगायतका स्वास्थ्य परीक्षणहरू निःशुल्क रूपमा गरिएका थिए । उपचारपछि आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा विभिन्न नेपाली विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको थियो । गाउँमै विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा स्थानीयवासीहरू अत्यन्तै खुशी देखिएका छन् । स्वास्थ्य सेवा लिनका लागि जिल्लाबाहिर हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै सेवाग्राहीहरूले गाउँपालिका र आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

शिबिरको समापन गर्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले स्वास्थ्री र शिक्षाको बिकास बिना समृद्धि हासिल गर्न नसकिने बताउंदै नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर आफुले जिल्लामै पालिकास्तरीय पहिलो अस्पताल स्थापना गरेको बताएका थिए।उनलेे नि:शुल्क स्वास्थ्य शिविरमार्फत स्थानीयलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिंदै उनले मायाको चिनो र सम्मान पत्र प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्