खोसियो भण्डारीको पद,मधेस प्रदेश प्रमुखका लागि कर्णको नाम सिफारिस



काठमाडौं,२५ कार्तिक । सरकारले मधेस प्रदेश प्रमुखका लागि सुरेन्द्रलाल कर्णलाई सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो। पदीय गरिमा विपरीत होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराएपछि विवादमा पर्नुभएकी उहाँ बर्खास्त हुनुभएको हो ।

हिजो बिहानै भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई होटलमा शपथ गराएपछि हिजो दिनभर जनकपुरधाम तनावग्रस्त भयो । तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले शनिवार विश्वासको मत लिनेक्रममा मत विभाजन प्रकृया शुरु हुनुअगावै पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेश प्रमुखमा सिफारिस कर्णले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँ २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्य बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्