पानस होटलमा मुख्यमन्त्रीको शपथ,घटना निन्दनीय भएको कांग्रेसको प्रतिक्रिया



काठमाडौं,२४ कात्तिक । नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ ।

यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने कांग्रेसको आशंका छ ।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दु:खद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १०३ बमोजिम एमाले दलका नेता सरोज कुमार यादवलाई कात्तिक २३ गतेको पत्रमा आज बिहान मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

अस्वस्थ भएकाले काठमाडौं जान्छु भन्दै आज बिहान निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन् ।

कांग्रेस महामन्त्री शर्माले संविधानको धारा १६८(२) को सरकार बन्ने संभावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाएका छन् । साथै यसलाई न्यायालयले सच्याउने अपेक्षा पनि गरेका छन् ।

‘संविधानको धारा १६८ (२) को सरकार बन्ने संभावना छँदै मञ्चन भएको प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ,’ महामन्त्री शर्माले लेखेका छन् ।

यसैबीच,नवनियुक्त मुख्यमन्त्री यादवले तीन मन्त्री नियुक्त गरेका छन्।संविधानको धारा १६८ को उपधार (३) बमोजिम आज बिहान मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आजै तीन मन्त्री नियुक्त गरेका हुन् ।

उनले एमालेबाट लखन दास, संघीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्