जेनजी पुस्ताका नाममा मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको छ :ओली
काठमाडाैं,२३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
देशमा फैलिएको अस्थिरता र त्रासको वातावरणका लागि जेन-जी आन्दोलनलाई जिम्मेवार ठहर्याउंदै ओलीले भदौ २३ र २४ गते भएका तोडफोड र आगजनीका घटनामा संलग्नहरू जेन-जी आन्दोलनका युवा नभइ आपराधिक तत्व भएको टिप्पणी गरे।
गैरकानुनी र असंवैधानिक सरकारले दिएको आदेशले कानूनी शासनलाई ध्वस्त पारेको बताउंदै उनले नेपालमा अधिनायकवाद शुरु भएको दावी गरे। अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि त्यहीं सिलसिला दोहोर्याउन खोजिएको बताए । मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरु लागि परेको समेत उनको भनाइ थियो।

