लेखापढी व्यवसायीको ३१ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं,असोज २८ । लेखापढी व्यवसायीहरुको छाता संगठन नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले मंगलबार ३१ औं वार्षिकोत्सव मनाएको छ ।

एसोसिएसनले आफ्नै केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा भेला गरी वार्षिकोत्सव मनाएको महासचिव हरिप्रसाद पौडेलले बताए । पौडेलका अनुसार वार्षिकोत्सवको अवसरमा छलफलसँगै समसामयिक विषयमा अन्तरक्रिया पनि भएको छ । एसोसिएसनले शुभ दीपावली, छठ पर्वका साथै नेपाल सम्वतको पनि शुभकामना आदानप्रदान गरेको छ ।
एसोसिएसनका निवर्तमान महासचिव कृष्णप्रसाद दाहालले एसोसिएनले यहाँसम्म आइपुग्दा भोगेका विषयबारे जानकारी गराएका थिए । उनले विभिन्न समयमा एसोसिएसनले संघर्ष गरेको र त्यसबाट प्राप्त उपलब्धिलाई आत्मसात गर्दै अगाडि बढेको बताए । उनले वार्षिकोत्सवले संस्थालाई थप गतिशील बनाउने विश्वाससमेत व्यक्त गरे । संस्थाका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकालले निकै संघर्षका बीच संस्था यहाँसम्म ल्याउन सफल भएकोमा सबैप्रति आभार व्यक्त गरे । उनले जुनसुकै परिस्थितिको सामना गर्नुपरे पनि एसोसिएसन एकमत भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘हाम्रो व्यवसायलाई मानिसले राम्रो ढंगले हेरेका छैनन्, हामीमा के समस्या छ त्यो सच्याउनुपर्छ र सबैको नजरमा राम्रो हुनेगरी काम गरेर हामीले देखाउनुपर्ने चुनौती छ ।’तीन पटकसम्म अध्यक्ष भएर नेतृत्व गरेका ढकालले एसोसिएनलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक नभएकोमा गुनासो गरे ।
एसोसिएसनका अध्यक्ष सिताराम दाहालले एसोसिएनसँग धेरै चुनौती भए पनि सामना गर्दै अघि बढेको बताए । उनले नेपाल बार एसोसिएसनले आफ्ना मागलाई सकारात्मक रुपले हेरेको बताउँदै केही दिनमै साझा लक्ष्य प्राप्तिका लागि आवश्यक परे सबैसँग समन्वय गर्न तयार रहनसमेत सबैलाई आग्रह गरे । ‘हामी एकातिर व्यवसाय गर्छौ भनें अर्कोतिर सामाजिक कार्यमा पनि संलग्न रहेका छौं भन्ने देखाउनुपर्ने छ त्यसका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेलौं’ अध्यक्ष दाहालले भने ‘हामीभित्र केही समस्या भए बसेर छलफल गरौं, एकजुट भएर सामूहिक हितका लागि अघि बढ्नु आजको आवश्यकता हो ।’
अध्यक्ष दाहालले एसोसिएसनको पोखरा इकाई समितिको अगुवाइमा त्यहाँको मालपोत कार्यालय आजबाट चालु भएको खुशी पनि व्यक्त गरे । ‘हाम्रो पहलमा नै अरुसमेतको सहकार्यमा मालपोत कार्यालय संचालनमा आएको छ त्यसैले यसलाई हामीले जस्ताको त्यस्तै प्रचार गर्न र बुझाउन सक्नुपर्छ’ उनले भने ‘मैले कलंकी मालपोत र नापी कार्यालयमा पनि साथीहरुलाई चिठी र निवेदनमा सहयोग गर्दा शुल्क नलिन आग्रह गरेको छु ।’
उपस्थितहरुले आगामी चाडपर्वको शुभकामना व्यक्त गरेका थिए । एसोसिएसनले सबै जिल्ला र इकाई समितिले पनि वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्र गरेको जनाएको छ । २०५२ साल असोज २७ र २८ गते भएको पहिलो भेलाले केशव नेपालको संयोजकत्वमा नेपाल लेखापढी व्यवसायी समितिको नामबाट यो संस्था एक भएको थियो । पहिलो महाधिवेशनले नवराज पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । २०६३ जेष्ठ २९ गतेबाट यसको नाम नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएन भएको हो । वैशाख तेस्रो सातामा ललितपुरमा भएको महाधिवेशनले दाहाललाई अध्यक्षमा तेस्रो पटक निर्वाचित गरेको हो ।


