कविता : कसरी लेखौं शुभकामना ?



  • सुबाश जमरकट्टेल


संबिधान बाँच्यो
देश बाँच्यो
भष्टाचारी नेता बाँचे
घुसखोरी कर्मचारी बाँचे
पार्टी बाँचे
पार्टीका झोले बाँचे
मरेका भनेको त
उहि सर्वसाधारण
जनता न हुन् ।

आज
तामझामका साथ
संबिधान दिवस मनाईयो ।
लखेट्ने र लखेटिने
एउटै मञ्चमा भेटिए
चर्का स्वरमा भाषण
ठोकिए
ठुल्ठुला अक्षरमा
शुभकामना
लेखिए
नलेखिएको त
उहि सर्वसाधारणको
जिवन गाथा न हो ।

यहि संविधान
बने पछि
हजारौं नेता बने
सयौ मन्त्री बने
अर्बौ भ्रष्टाचार गरे
आलिसान घर
गाडी र सम्पति जोडियो
नजोडिएको
भनेको त उहि
सर्वसाधारण जनताको
हात मुख न हो ।

पार्टी र नेता कै
आडमा हजारौ
गुन्डा बने
हजारौ भ्रष्ट जन्मिए
जन्मदै नजन्मिएको
भनेको त
उहि राज नेता न हो ।

यहि संविधानले
देश पालेको छ
प्रदेश पालेको छ
प्रदेशका हजारौ
नेता पालेको छ
भ्रष्टाचार, घुसखोरी,
बिकृति र बिसंगति
पालेको छ
नपाकेको भनेको त
युवा जनशक्ति न हो ।

अन्याय, अत्याचार
बेथितिले र कुरितीले
शिखर चुलिएको छ
शिर उठाउनै
नसकेको त
उहि सर्वसाधारण
जनताले न हो ।

दश बर्षमा
दश प्रधानमन्त्री बने
सयौ मन्त्री बने
नबनेको त
उहि देश न हो
त्यसैले
यो देश नबन्ने
सर्वसाधारण
जनता !
जनता बन्न नसक्ने
संविधान बनेको
दिनलाई हर्षोल्लासका साथ
कसरी लेखौं म
शुभकामना ?

सोलुखुम्बु

प्रतिक्रिया दिनुहोस्