समन्वय र सहकार्यका साथ चुनावकाे सफलताका लागि क्रियाशील हुन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौं,३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अबको ६ महिनाभित्रमा चुनाव सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा आज शीतल निवासमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन गरिएको बताउँदै सो कुरा बताएका हुन्।
देश फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै देशको आउँदाे बाटो तय गर्ने विश्वास व्यक्त गरे। राष्ट्रपति पाैडेलले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र चुनाव सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने उनको भनाई थियो।
राष्ट्रपति पाैडेलले राजनीतिक दल, देशको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ चुनावकाे सफलताका लागि क्रियाशील हुन आह्वान गरे ।
उनले भने, ‘देश फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ । नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै देशको आउँदाे बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा चुनाव सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो । प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले यो कदम चालिएको कुरा सबैले बुझौँ ।’
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत सहभागी भएका थिए।
त्यसैगरी पूर्वराष्ट्रपति डा.रामवरण यादव,विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, लगायत विभिन्न कूटनीतिक निकायका विशिष्ट व्यक्ति पनि उपस्थिती थियो।

