असोजबाट सवारीसाधन चलाउने व्यवसायीको घोषणा

काठमाडौं,२५भदौ। यातायात व्यवसायीहरूले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनबीच बुधवार भएको छलफलमा असोज १ गतेदेखि लामोछोटो दुवै दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि चैत ११ देखि बन्दाबन्दी गरेर सार्वजनिक यातायात सञ्चालन निषेध गरेको थियो । ४ महीना लामो बन्दाबन्दीपछि सरकारले असार २५ गते काठमाडौं उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा जिल्लाभित्र मात्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसपछि व्यवसायीले ४ महीनासम्म ग्यारेजमै थन्किएका सवारीसाधन सामान्य मर्मत गरेर सडकमा गुडाएका थिए । तर, सरकारले भदौ ३ गतेदेखि पुनः काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञा र अन्य जिल्लाहरूले पनि बन्दाबन्दी गरेपछि सार्वजनिक यातायात बन्द थिए । निषेधाज्ञा लगाएर सार्वजनिक यातायात बन्द गरेपछि रुष्ट व्यवसायीले सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै योजना नबनाएको आरोप लगाएका छन् । अब पनि सरकारले निषेधाज्ञा जारी राखे आफ्नै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको चेतावनी छ ।
सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने निर्णयसहितको माग गरी व्यवसायीहरू यातायात व्यवस्था विभागमा पुगेका थिए । उनीहरूले विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारसँग यातायात सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।

