नाकामा सेना परिचालन गरेर निषेधाज्ञा खुकुलो बनाउन सुझाव



काठमाडौं , २३ ।निषेधाज्ञाका कारण बिपन्न बर्गका नागरिकहरु समस्याग्रस्त भएको निष्कर्ष निकाल्दै काठमाडौं उपत्यका नगरपालिका फोरमले निषेधाज्ञा क्रमशः खुकुलो बनाउनु पर्ने निष्कर्षमा पुगेका छन।

नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यका प्रवेश नाकाहरुमा सेना परिचालन गरेर उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । संक्रमितलाई मानिसहरुको सम्पर्कबाट छुट्याएर समस्या समाधान गर्दै जाने र बाहिरबाट थपिने समस्या रोक्न नाकामा कडाइ गर्नुपर्ने उनीहरूको निष्कर्ष छ।

नगरपालिका फोरमले नागरिकलाई जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने लगायत निर्णय भएका छन् । निषेधाज्ञालाई खुकुलो बनाएर दैनिक गतिविधि सञ्चालन गर्नसक्ने अवस्था बनाउन स्थानीय प्रशासनलाई सुझाव दिइएको बुढानलीकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले अनलाइनखबरलाई बताए ।बैठकले उपत्यकाका स्थानीय तहहरुले दिने सेवा पनि आवश्यकताअनुसार सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकले कागेश्वरी मनोहरा नगरका मेयर कृष्णहरि थापाको संयोजकत्वमा स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा धारणा निर्माण गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा गोदावरी नगरका मेयर गजेन्द्र महर्जन, चन्द्रागिरी नगरका मेयर घनश्याम गिरी, नागार्जुन नगरकी उपमेयर शुशीला अधिकारी र तारकेश्वर नगरकी उपमेयर भवानी डोटेल धिताल छन् ।

प्रतिक्रिया दिनुहोस्