लिपुलेक नाका खोल्ने चीन-भारत सहमतिप्रति रास्वपाले भन्यो- ‘नेपालको सहभागिता बिनाको सहमति मान्य छैन’



काठमाडौं,१० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना वैध मान्न नसकिने बताएको छ ।

नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको ‘एकतर्फी सहमति’प्रति आफ्नो धारणा सार्बजनिक गर्दै सो पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्तिमार्फ पार्टीको धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन्।

लिपुलेक क्षेत्रमाथि नेपालको अधिकार ऐतिहासिक,भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्ने उल्लेख गर्दै खनालद्वारा जारी बिज्ञप्तिमा यो विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने दायित्व नेपाल सरकारकै भएको
उल्लेख छ ।

प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न रास्वपाले माग पनि गरेको छ।

गत साता दुई ठूला छिमेकीले नेपाललाई थाहै नदिई लिपुलेक नाका खोल्ने सहमति गरेपछि सरकारसँगै अरु राजनीतिक दलले कडा आपत्ति जनाएका थिए। रास्वपाले भने यसप्रति मौनता साँध्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्