उपाध्यक्ष शेर्पासहित १७ जनाले गरे नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट राजीनामा दिएको घोषणा

दावा जाङ्बु शेर्पा,काठमाडौं,१० भदौ । संगठनको निर्णय बिपरित स्वतन्त्र उम्मेदवार फुर ग्याल्जेन शेर्पालाई नेपाल पर्बतारोहण संघको अध्यक्षमा जिताउन भूमिका निर्बाह गरेको भन्दै नेकपा (एमाले) निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले दुई बर्षका लागि संगठनबाट निष्कासन गरेका उपाध्यक्ष ङावा ङिमा शेर्पाको नेतृत्वमा १७ जनाले सो संगठनबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

शनिबार सम्पन्न नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा व्यावसायिक हित र संरक्षणको पक्षमा उभिँदा संगठनको नेतृत्वबाट सामाजिक सञ्जालमार्फत आफूलाई जोडेर सिंगो समुदायलक्षित अभिव्यक्ति दिएको आरोप लगाउंदै उनीहरूले सामूहिक राजीनामाको घोषणा गरेका हुन्।पर्यटन ब्यबसायी संगठनबाट राजीनामा दिए पनि माउ पार्टी नेकपा एमालेसंगको आवद्धता भने कायमै रहेको उपाध्यक्ष शेर्पा समूहद्वारा सोमबार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजीनामा दिनेमा ङावा ङिमा शेर्पासहित पासाङ शेर्पा, चेङ्गा छिरिङ शेर्पा, नाङ तादो शेर्पा,फुरी गेल्जेन शेर्पा, फुरी लाक्पा शेर्पा, ङिमा दोर्जी शेर्पा, माया शेर्पा,पेमछिरि शेर्पा,आङ पेम्बा शेर्पा, पेम्बा शेर्पा रहेका छन् । त्यस्तै, वाङ्दा शेर्पा, राजेश्वरी थापा मगर, रिञ्जी जाङ्बु शेर्पा, दोर्ची शेर्पा, फुर्वा तेन्जिङ शेर्पा र कर्मा शेर्पाले पनि राजीनामा दिएका छन् ।
एनएमए निर्वाचनमा गठबन्धन गर्ने नाउँमा अध्यक्ष,महासचिवलगायत अधिकांश पद कांग्रेसलाई दिने निर्णय गरेको आरोप लगाउँदै ङावा ङिमा शेर्पाको नेतृत्वको टिमले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित स्वतन्त्र व्यवसायी फुर गेल्जे शेर्पालाई निर्वाचन जिताउन मुख्य भूमिका खेलेका थिए ।
‘विशेषतः,शेर्पा समुदायप्रति लक्षित असंवेदनशील अभिव्यक्तिहरू, समावेशीताको कमी, तथा संगठनको नाममा भइरहेको राजनीतिक प्रयोगप्रति हाम्रो स्पष्ट असहमति रहेको छ” सामुहिक राजीनामामा लेखिएको छ, ”अध्यक्षज्यूसहित पदाधिकारीहरूबाट सामाजिक सञ्जालमार्फत हाम्रो समुदायलाई लक्षित गरी दिइएका अभिव्यक्तिहरूको हामी कडा विरोध प्रकट गर्दछौं ।”
विज्ञप्तिमा उनीहरूले सबैले विगतमा संगठनप्रति ईमानदारिता,निष्ठा र पेशागत समर्पणका साथ योगदान दिँदै आएको तर,पछिल्ला घटनाक्रमले शेर्पा समुदायप्रति सम्मानको गम्भीर अभाव महसुस गराएको आरोप लगाइएको छ।

