ओखलढुंगामा सञ्चालित ‘जीप लाईन’ अर्थात आकाशको बाटोको यात्रा
-
- सुजन चेल्सि शर्मा

प्राकृतिक र सांस्कृतिक रुपले भरिपूर्ण ओखलढुंगामा पर्यटकीय सम्भावना बोकेका थुप्रै स्थानहरु छन् । यहाँका विभिन्न ऐतिहासिक स्थल,झरना,खोला,गाउँ बस्ती,अग्ला पहाड,वनजंगल,गुफा लगायत मनोरम दृष्य हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
- सुजन चेल्सि शर्मा
त्यसैले पनि पर्यटन व्यवसायको राम्रो सम्भावना देखिएका क्षेत्रमा अहिले पूर्वाधार निर्माणले गति पाइरहेको छ । यो दृष्य हो- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित केत्तुके बजारको । सदरमुकामबाट झन्डै १३ किलोमिटरको दुरीमा अवस्थित यो बजार पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको छ ।

काठमाडौं र तराईका जिल्ला आवतजावत गर्ने मुख्य सडकको बिचमा अवस्थित केत्तुकेमा विशेष गरी तामाङ समुदाय र बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता छ ।
यहाँको संस्कार संस्कृति र समाज हेर्न,बुझ्न र घुम्न आउनेहरुको संख्या पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । अहिले यहाँ निर्माण भएका विभिन्न पूर्वाधार र निर्माणाधीन संरचनाले पनि पर्यटक तानिँदै गएका छन् ।
केत्तुकेमा रहेको शहिद स्मृति पार्क,सम्भवत नेपालकै सबै भन्दा अग्लो ३५ फिटको बुद्धको मूर्ति,बौद्ध गुम्बा र हालै ओखलढुंगामै पहिलो पटक सञ्चालनमा आएको जिपलाईनले केत्तुके क्षेत्र थप आकर्षक बन्दै गएको छ ।
स्थानीय उत्पादन र खानाको स्वाद लिन पाईने र पर्यटकीय पुर्वाधारहरु धमाधम बन्न थालेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको लहर नै लाग्न थालेको छ ।
पर्यटन प्रर्वद्धनकै लागि ओखलढुंगामै पहिलो पटक सरकारी लगानीमा झन्डै ४० लाख खर्च गरेर ४ सय ५० मिटरको जीपलाईन सञ्चालनमा आएपछि यस क्षेत्रको रौनक नै थपिएको छ ।
प्लेटफर्मको कुनामा उभिँदा तल मिलेको केत्तुके बजार,वरिपरि फैलिएको हरियो जंगल मानौँ कुनै चित्रकारको क्यानभासमा कोरिएको सुन्दर चित्र जस्तो देखिन्थ्यो। तर त्यो दृश्यको सौन्दर्यसँगै मनमा हल्का डर-अज्ञाततर्फको यात्रा सुरु हुन लागेको संकेत।
इन्स्ट्रक्टरको मुस्कान र आश्वासनसहित म सुरक्षा बेल्टमा बाँधिए। मनमा प्रश्नहरू उम्लिए—“के म सक्छु?”, “के यो जोखिम लिने क्षण हो?”—तर भित्र कतै एउटा सानो स्वर भन्थ्यो, “डर त केवल पहिलो ढोका हो,त्यसपछाडि स्वतन्त्रता छ।”
“गो!” भन्ने संकेतसँगै म हावामा उडें। हावाले अनुहार छोयो, मुटुमा धड्कनको ढोल बज्यो र शरिरले गुरुत्वाकर्षणलाई चुनौती दिँदै तारमा बग्न थाल्यो। पहाडहरूले टाढाबाट स्वागत गरिरहेका थिए । अनि मेरो यात्रामा सुनौलो पन थपिरहेको थियो।
केही क्षणमै डरको सबै रङ मेटियो र त्यसको ठाउँमा रोमाञ्च र आनन्दको रंग फैलियो। त्यो उडानमा मैले आफूलाई कुनै सीमाबन्दी नभएको चराको रूपमा महसुस गरेँ—जहाँ न त भुइँले बाँधेको थियो, न त आकाशले रोकेको थियो।
गन्तव्यमा खुट्टा टेक्दा शरीर रोकियो,तर आत्मा अझै त्यहीँ आकाशको बीचमा उडिरहेको थियो। त्यो दिन जीपलाइनले मलाई सिकायो—जीवनका सबैभन्दा सुन्दर क्षणहरू डरको पारिपट्टि हुन्छन्।

