कोरोना भाइरसको बढ्दो त्रास



काठमाडौं । विश्वभर झन्डै तीन हजारभन्दा बढी मानिसको ज्यान लिइ सकेको प्राणघातक कोरोना भाइरस (कोभिड–१९) को आतंक नेपालमा बढ्दै गएको छ । भाइरसको संक्रमण भएको एउटै बिरामी पुष्टी नभएपनि विश्वका कतिपय मुलुकमा फैलैँदो प्रकोपले नेपाली जनजीवन पूरै त्रसित बन्न पुगेको छ । भाइरस भित्र्ने आशकाले त्रसित सर्वसाधारण नेपालीहरुको मनोबल उच्च राख्ने प्रयत्न गरिनुको सट्टा भइरहेको नकारात्मक प्रचारले मानसिक स्वास्थ्यमा समस्या बढेर जाने आशंका उत्पन्न भएको छ ।
प्रकोप न्यूनीकरणका उपाय र त्यस्को वास्तविक अवस्थाका सम्बन्धमा जानकारी गराउनु पर्नेपक्षहरु नै स्याल हुँइया मच्याउन थालेपछि यसले नकारात्मक प्रभाव पार्नु अस्वभाविक होइन । तर सरोकारवाला सम्बन्धित निकायले यस तर्फ ध्यान नपु¥याउँदा कतिपय सर्वसाधारणहरु आफू कालको मुखमा परिसकेको अनुभव गर्न थालेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैले पूर्वसतर्कता अपनाउनु आवश्यक भएपनि पूरै त्रसित हुनुपर्ने आवश्यकता अहिलेसम्म नदेखिएको जानकारहरुको भनाइ छ । संक्रमणको आशंकामा परिक्षणका लागि अस्पताल पु¥याइएका कतिपय विरामीहरु कोरोनामुक्त भएको घटनाक्रमले आतंकित हुनुपर्ने अवस्था नरहेकोतर्फ संकेत गरेको बुझ्न कठिन छैन । मुलुकभित्र हालसम्म संक्रमित व्यक्ति फेला नपरेको वर्तमान अवस्थामा स्थल र हवाई मार्ग प्रयोग गरेर नेपाल भित्रने व्यक्तिहरुको स्वास्थ्य जाँचमा कडाइ गर्नु आवश्यक कुरा हो । केही समय यतादेखि सरकारले कोरोना भाइरस भित्रन नदिनका लागि हवाइ र स्थल मार्गमा स्वास्थ्य जाँचको प्रवन्ध मिलाइएको बताउँदै आएको मात्र छैन । यसबाट जोगिने उपायका विषयमा सार्वजनिक जानकारीसमेत दिइरहेको छ । यो सकारात्मक प्रयास हो ।
सुरुमा देखा परेको र धेरैको ज्यान गएको उत्तरी छिमेकी मुलुक चीनमा यसको प्रभाव घट्दै गएपनि अन्य देशहरुमा फैलिएको कोरोना भाइरसको संक्रमणको असर विश्व अर्थतन्त्रमा सबैभन्दा बढी पर्ने देखिएको छ । विश्वमै महामारीका रुपमा फैलिन खोजेको कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र पनि गम्भीर संकटमा पर्ने संकेतहरु देखिन थालेका छन् । पर्यटकीय क्षेत्रहरु सुनसान हुँदै जानु, व्यापारिक प्रतिष्ठानहरुमा ओहोरदोहोर कम हुनु र सार्वजनिक कार्यक्रमहरु रोकिँदै जानुलाई चिन्ताको विषय मानिएको छ ।
यसैबीच कोरोना भाइरसको संक्रमणको जोखिममा नेपाल पनि रहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ । सांसद गगन थापाका अनुसार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइ सरकारलाई संवेदनशिल हुन आग्रह गरिनेछ ।
यस्तै, संसदको शिक्षा तथा स्वास्थ्य समितिले पनि कोरोना भाइरस संक्रमण र भइरहेको तयारीकाबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग छलफल गर्ने भएको छ । समितिले सार्वजनिक चासोको विषय भएको भन्दै सरकारले गरेको तयारीका बारेमा बुझ्न छलफल डाकिएको समिति सभापति जयपुरी घर्तीले बताइन् ।
यसैबीच कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सभा, सम्मेलन जस्ता धेरै मानिस भेला हुने कार्यक्रम रोक लगाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी संखुवासभा जाने कार्यक्रम स्थगित भएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेको मनकामना रत्न अम्बिका माध्यामिक विद्यालयको ६१ औं वार्षिकोत्सब तथा हिरक महोत्सव उद्घाटन गर्न राष्ट्रपति भण्डारी जाने कार्यक्रम थियो । कोरोना सङ्क्रमण नेपालमा समेत फैलन सक्ने अवस्था भएपछि सरकारले सभा, सम्मेलन जस्ता कार्यक्रममा रोक लगाएपछि फागुन २९ गते राष्ट्रपति भण्डारी जाने कार्यक्रम स्थगित भएको हो । मनकामना विद्यालयको ६१ औं वार्षिकोत्सब तथा हिरक महोत्सव गत माघ १५ भएपनि राष्ट्रपतिको समय ब्यस्तताका कारण सर्दे आएको थियो ।
राष्ट्रपति भण्डारी विद्यालयको महोत्सवमा सहभागी भएपछि पूर्वको चर्चित धार्मिक स्थल मनकामना र योगमायाको तेह त्याग गरेको स्थान भोजपुरको षडानन्द नगरपलिका –१ मझुवाबेशी समेत पुग्ने कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्