ङिमदोर्जी शेर्पा सडकको ट्र्याक ओपन सुचारु

खगिन्द्रराज बास्तोला

सोलुखुम्बु, १९ भाद्र। खुम्बु पासाङल्हामु गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय ङिम दोर्जी शेर्पाको नाममा बनाउन लागिएको ङिम दोर्जी शेर्पा सडक मार्ग निर्माण कार्यको ट्र्याक ओपन पुनः सुचारू भएको छ ।
वर्षा यामको झरीका कारण विगत २ महिना अघिदेखि अबरुद्ध सो ट्र्याङ ओपन कार्य हिजोबाट जेसिभी प्रयोग गरी खन्न शुरु गरिएको हो ।पालिकाको १ नम्बर वडा काँडेदेखि थामडाँडासम्मको सडक निर्माण उपभोक्ता समिति फुरा ग्याल्जेन शेर्पाको अध्यक्षतामा गठन गरी सो समितिबाट सडक निर्माण कार्य अगाडि बढेको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताउनुभयो । प्रवक्ता शेर्पाका अनुसार सो ट्र्याक ओपनका लागि गाउँपालिकाले ९० लाख बजेट छुट्याएको छ।
वर्षा याम सकिएसँगै सडक ट्र्याङ ओपन विस्तारको कार्य तीव्र गतिमा अघि बढ्ने र सल्लेरी, खरिखोला, सुर्के, चौरीखर्क हुँदै पालिकाको कार्यालयलाई सडक मार्गले जोडी खुम्बुमा यातायात सञ्चालन हुने वहाँले बताउनु भयो।
निकट भविष्यमा खुम्बुमा यातायात जोड्नु अनि खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको केन्द्रसम्म आगामी दिनमा यातायात संचालन भएमा आन्तरिक तथा बाह्य पर्यटक आवातजावत बढ्ने र मालसामान ढुवानीमा समेत सहजता हुने स्थानीयवासी बताउँछन ।

