नगरप्रमुख शेर्पाद्वारा तिङलामा नयाँ स्वास्थ्य चौकी भवन शिलान्यास
सोलुखुम्बु, १३ जेठ ।सोलुदुधकुण्ड नगरपालिका–११, तिङलामा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले मंगलबार एक कार्यक्रमकाबीच स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले सोलु दुधकुण्ड नगरपालिकाले स्वास्थ्य,शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरु अगाडि बढाइरहेको बताउँदै भवन निर्माण कार्य छिटो सम्पन्न गरी सेवा प्रवाहमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गैर सरकारी संस्था पाहिला पाहिलाको आशाको प्रमुख डा. पासाङ काजी लामा, नगरपालिकाका जनप्रतिनिधि, स्थानीय समाजसेवीहरू, संस्थाका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सोलुदुधकुण्ड नगरपालिका र गैर सरकारी संस्था पाहिला पाहिलाको आशाको एक करोड चौध लाख एकानव्वे हजार संयुक्त लागत साझेदारीमा निर्माण हुने उक्त भवनले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँचमा महत्वपूर्ण योगदान पुर्याउने आशा कार्यक्रमका बक्ताहरुले व्यक्त गरेका थिए ।
नयाँ भवन आधुनिक संरचना अनुसार निर्माण हुने भएका कारण यसले मातृ तथा शिशु स्वास्थ्य सेवा, नियमित उपचार, खोप सेवा लगायतका सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

