सल्लाहकार सेढाईलाई अमानवीय ढंगले पक्राउ गरियो : संयुक्त जनआन्दोलन समिति
काठमाडौं,२३ बैशाख । आफ्नो समितिका सल्लाहकार खेमराज सेढाईंलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै वहाँ लगायत संयुक्त जनआन्दोलन समितिले सबै आस्थाका बन्दीहरुलाई तत्काल रिहाइ गर्न माग गरेको छ।

संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले सोमबार एक बिज्ञप्ति प्रकाशित गर्दै तीनकुने घटनाको अभियोगमा पक्राउ गरिएका सेढाई सहित सबै आस्थाका बन्दीहरुलाई रिहाइ गर्न माग गरेका हुन्। तिनकुनेमा भएको राज्य आतंकमा सेढाईको कुनै संलग्नता नरहेको स्पष्ट पारिएको छ। बिज्ञप्तिमा भनिएको छ,-‘उहाँ राष्ट्रगान गाइरहेको अवस्थामा अश्रुगोली वर्षा खप्न नसकी मञ्चबाट सहयोगीहरुद्वारा बचाउ गरी बाहिर निकालिनु भएको थियो ।’
मुटु तथा अन्य रोगबाट पीडित ७२ वर्षीय सेढाईंले नियमित सेवन गर्ने औषधि घरमा भएकोले कम्तिमा औषधि लिन घरसम्म पुर्याएर मात्र नियन्त्रणमा लिन अनुरोध गर्दा समेत अमानवीय रुपमा गरिएको पक्राउको गरिएको बिज्ञप्तिमा उल्लेख छ।
पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईका राजनीतिक सल्लाहकार हुँदै हालसम्म राष्ट्र राष्ट्रियता र धर्म संस्कृतिको रक्षार्थ विभिन्न वौद्धिक क्रियाशीलतामार्फत सक्रिय सेढाईलाई तीनकुने घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार एक सार्बजनिक कार्यक्रममा संलग्न भइ रहेका बेला सुकेधाराबाट पक्राउ गरेको थियो।
सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,महामन्त्री डा.धवल शमशेर जबरा,व्यवसायी दुर्गा प्रसाईं सहित झण्डै दुई सय जनालाई पक्राउ गरेको थियो।

