लघु कथा



-अबिलाल राई

साँझपख रोपाईबाट फर्कियौं । दौंतरीहरु पँधेरीमा मन खोलेर हाँसिरहेका थिए । विषय ठ्याक्कै मलाई थाहा भएन, तर खुब मज्जाले हाँसे साथीहरु ।प्राय सबै रोपाईंबाट फर्किएका, जीउ हिलाम्मे थियो । सबैले दिनभरीको हिलोमैलो पखाल्यौं । बर्खाको समय पानीको मूल फुटेकै थियो । धारामा पानी प्रशस्तै । रोपाईको हिलो पखाल्न खासै समय लागेन।

वर्षातको समय । सिमसिमे पानी पर्न सुरु गर्‍यो । साथीहरु घुम उघारेर ओढ्न थाले । मैले पनि उही गरे । धाराको एक छेउमा घुम ओढेर हामी सबै एकै ठाउँ उभियौं ।

झ्याउकिरीले साँझको संकेत गरिरहेको थियो । हामी सबै मौन थियौं । जय, केहि बोल्न खोज्दै थियो , छेवैबाट एक हुल रोपार जिस्किंदै उभो लागे । जय चुपचाप लाग्यो । राजुले प्याच्च जिब्रो फडकार्‍यो “के भन्न खोज्दै थिईस भन्न भन् !” जय भूँई तिर हेर्न थाल्यो । उसले बाँया खुट्टाको फिता चुँडिएको हात्तिछाप तिर नजर घुमायो । निराश मुद्रामा एकसरो बाँयातिर नजर डुलायो ।निसिपट्ट अँध्यारो भैसकेको छ ।

टर्च लाईटको उज्यालो बिना एक अर्कालाई खुट्याउन गाह्रो छ । जय केही बोलेन । उसले बसेर भुँई कोतर्न थाल्यो । उसमा झन मौनता छायो । हामी कोही बोलेनौ । राजु फेरी बोल्यो र सबैको मौनता तोड्यो । “ए जय तँ तेत्रो रमाईलो र रसिला गफ छाट्ने मान्छे के भयो ? तेरो गर्लफ्रेण्ड अर्कैसंग हिड्यो कि के हो ।” राजुले यति भनि नसक्दै जयले राजुलाई जवाफ फर्कायो “गर्लफ्रेन्ड अर्कोसंग जानलाई त पहिले लभ पर्नुपर्यो नि !” जयले थप्यो, तँ बढी ठ्ट्टा नगर्न । हामीले यत्रो वर्षसंगै पढ्यौं ।संगै मेलापात गर्‍यौं । घुर्मी कटारी देखि नूनतेल बोकियो । संगै लुक्ला नाम्चे कति धाइयो । ढाकर तोक्मा भिरेर संयौं पटक परदेशसंगै हिड्यौं ।

थुप्रै दु:ख सुखमा सहयात्रा गर्‍यौं । एलएलसी सम्मका सहपाठी पनि । भोली माईला जाने रे, जयले निराश हुँदै भन्यो। यत्रो वर्ष संगै बसेर अहिले छुट्टिनु पर्दा मनले खासै मिठो मानेको छैन । राजुले सोध्यो सोध्यो, माईला कहाँ जाने रहेछ ? जयले उत्तर दियो ‘पढ्न जाने रे राजधानी।’

राजधानी भनेको कता ? थुप्रै देशको राजधानी छ । राजुले ठ्ट्याउली पारामा प्रश्न तेर्स्यायो । उसले थप्यो- अमेरिकाको वासिङटनडिसी कि चाईनाको बेईजिङ हो ? ‘तँ धेर नजिस्किन, जय अलि झर्कियो। साँच्चिकै माईला काठमाडौ जाँदैछ ईन्टर पढ्नलाई । माईला केही बोलेन ।

बर्षौं संगै पढेको, दु:ख सुखसंगै साटेको साथीहरुसंग छुट्टिनु पर्दा माइलाको मन पनि खुसी थिएन । राजुले सोध्यो ‘माईला तँ जाने हो काठमाडौं ? ।’ खै जाने भनेको माईला यतिमै अड्कियो । ‘अनि हामीलाई त भनिनस त’ राजुले भन्यो । ‘खै पहिले कता पढ्ने भन्दा धरान पढ्ने भनेर भन्यौं ।’ माईलाको जवाफ आयो । जयले थप्यो ‘साथी हो जिन्दगी यस्तै हो । सोचेजस्तो सबै हुँदैन । हामी सबैले केही गर्नुपर्छ । परिवार,समाज र देशको लागि । थुप्रै जिम्मेवारी छ ।

फलामे ढोका छिराई हालियो । सबैले पढौं, समयले साथ दिएसम्म । माईला तैले झन राम्रो पढ राजधानीमा ।हामीलाई चाहिं नविर्सी, दशैंमा भेट हुन्छ नै होला । अँध्यारो भो, रात छिपिदै गयो ।अब अहिले घर जाऔं । भोली तँलाई शुभयात्रा, बाई।’ यतिन्जेल झरी रहिसकेको थियो । जयले बाँया काँधमा घुम भिर्‍यो, दाँया काँधमा कोदालो अनि विदाईको हात हल्लाउँदै घरतिर लाग्यो। तलतिर झरेर फेरी भन्यौं, माईला भोली राम्ररी जा है । हामीलाई नभूल । विदेश जाने होईन देशमै केही गर्नुपर्छ । बाई

प्रतिक्रिया दिनुहोस्