निषेधाज्ञा :काठमाडौं उपत्यकामा थप कडाइ



काठमाडौं,१० भाद्र। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएसँगै काठमाडौं उपत्यका प्रवेश नाकामा थप कडाइ गर्न थालिएको छ ।

उपत्यकामा दिनहुँ संक्रमितको संख्या बढिरहेका बेला थपिएको निषेधाज्ञासँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश नाकामा चेकजाँचलाई थप कडा बनाएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले आज (बुधबार) निषेधाज्ञाको समय एक साता थप गरी भदौ १७ गते सम्मका लागि निरनतरता दिने निर्णय गरेका छन् । यससँगै उपत्यका प्रवेश गर्ने नाकाहरुमा प्रहरीले चेकजाँचलाई थप कडाइ गरेको छ ।

बुधबार दिउँसो उपत्यकाका मुख्य नाकाहरु नागढुङ्गा र साँगा भन्ज्याङ नाकामा प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।
नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यसबाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको छ ।

त्यस्तै अत्यावस्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ । सरकारले पनि अत्यावस्यक कामकाजका लागि आउनेहरुलाई नरोक्ने बताउँदै आएको छ । तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनै पनि पास वितरणको काम भएको छैन ।

समग्रमा उपत्यकाका सबै नाकामा सुरक्षाकर्मीहरुको उपस्थितिलाई बाक्लो बनाइएको छ । उपत्यकाभित्र पनि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोकचोकमा प्रहरीले चेकजाँचलाई कडा गरेको छ । अत्यावस्यक सेवाका सवारी साधन भने परिचयपत्रका आधारमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्