शिक्षक महासंघले आजबाट सडक आन्दोलन सुरु गर्दै



काठमाडौं । नेपाल शिक्षक महासंघले आजबाट काठमाडौंमा सडककेन्द्रित आन्दोलन सुरु गर्ने भएको छ।

आन्दोलनको पहिलो दिन आज माइतीघरमा दिउँसो १ बजे भेला भएर नयाँ बानेश्वर सम्म विरोध प्रदर्शन कार्यक्रम गर्ने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। बिहीबारदेखि भने हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आन्दोलनका कार्यक्रम हुनेछ।

महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी हुनेपर्ने माग गर्दै आएको महासंघका अध्यक्ष सुवेदीका अनुसार आन्दोलन परिचालन व्यवस्थित बनाउन अहिले ८ बजे बुद्धनगरमा जिल्ला आन्दोलन परिचालन समिति र प्रदेश आन्दोलन परिचालन समितिको बैठक बस्दैछ। स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी-करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गर्ने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चलिरहने महासंघको भनाइ छ।

चरणबद्ध आन्दोलनमा रहेको महासंघ संसद्को हिउँदे अधिवेशन पनि विद्यालय शिक्षा विधेयक नल्याई अन्त्य गरेपछि थप चिढिएको छ। महासंघले देशभरका शिक्षकलाई आन्दोलनमा आउन आह्वान गरेको छ। file foto

प्रतिक्रिया दिनुहोस्