तिनकुने घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तिनकुने घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसंग माग गरेको छ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न तथा उचित क्षतिपूर्ति दिन माग गर्दै न्यायिक छानबिनको माग गरेको हो।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन भड्किनुमा सरकार नै दोषी रहेको बताए।अनावश्यक रूपमा गोली चलाउनु सरकारको गल्ती भएको दाबी उनको थियो।
बैठकले शुक्रवारको प्रदर्शनपछि पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिनुका साथै पूर्वराजा शाहलाई राजनीतिमा तान्ने काम नगर्न आग्रह समेत गरेको छ।

