राजाबादी आन्दोलन : को को पकाउ परे आन्दोलनकारी ? कति भयो क्षति ?
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्सेर राणालाई प्रहरीले पक्राउ गरेको छ।

उनीरूसँगै अभियन्ता स्वागत नेपाल सहित ४४ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। यस्तै नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ।
प्रहरीले आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्नलाई प्रक्राउ गरेको जनाएको छ। लुटपाटमा संलग्न तथा विभिन्न सञ्चारमाध्यममा आक्रमण गर्नेहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
राजावादी समर्थकको आन्दोलनका क्रममा शुक्रबार दिनभर तनावग्रत बनेको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु हुँदा ५३ जना प्रहरी घाइते भएको विवरण सार्वजनिक भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको विवरण अनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन्। पूर्व राजाका समर्थकले थप १० ठाउँमा लुटपाट गरेका छन्।

