बिजुलीका नाममा राजनीति गर्ने पूर्बमन्त्री केसीको योजना बिफल

डिल्ली शर्मा

सोलुखुम्बु,७ भदौ । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. १ र २ का कतिपय जनतालाई अन्धकारमा राखेर राजनीतिक भ्रमका लागि त्रिवेणी लघु जलविद्युत आयोजनाबाट उत्पादित बिजुली वडा नं.३ मा लैजाने पूर्वमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको योजना अन्ततः विफल भएको छ ।
पालिकाको वडा नं.२ मा रहेको आयोजनाका सञ्चालक समिति अध्यक्ष धनजन राईलाई प्रयोग गरेर पूर्वमन्त्री केसीले गत चैतबाट सुरु गरेको ’विद्युत राजनीति’ गाउँ पालिका अध्यक्ष डुफकुमार बास्तोलाको पहलमा सरोकारवालाहरुबीच सहमति भएसंगै विफल भएको हो।सो सहमतिसंगै पूर्बमन्त्री केसी र आयोजना सन्चालक समितिका अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला कार्य समितिका सचिब धन्जन राइको राजनीतिका मतियार बनेर विद्युत बिस्तारको हौवा फैंलाउंदै हिंड्नेहरु समेत यतिबेला तैं चुप मैं चुप हुन पुगेका छन।
अध्यक्ष बास्तोलाको उपस्तिथिमा गाउँपालिकाका प्रतिनिधि, वडा नं ३ स्थित सिंहदेबी गुठि समाज,र त्रिबेणि लघु जलविद्युत विद्युत आयोजनाबीच बिहिवार भएको सहमतिमा आयोजनाबाट उत्पादित बिजुली साबिक सल्यान गाबिसका सम्पूर्ण घरधुरीमा बिस्तार नगरी अन्यत्र लान नपाइने र स्थानीयको आन्दोलनका कारण अस्थायी प्रहरी चौकीमा रोकिएका पोल नेचासम्म ढुवानी गर्ने समझदारी भएको छ।
वडा नं १ र २ मा बाँकी घरधुरीलाइ बेवास्ता गर्दै आयोजनाबाट उत्पादित विद्युत अध्यक्ष राईको एकल निर्णयमा नेचा तार्न खोजिएको भन्दै सल्लेरीबाट नेचा ल्याउन खोजिएका विद्युत पोल ट्र्याक्टर समेत तोडफोड गरि स्थानीयले सल्यानमै रोकेका थिए।
गत बैशाखको पहिलो हप्ता आन्दोलनकारीहरुले रोकेका ती पोल अस्थायी प्रहरी पोष्ट सल्यानबाट नेचाका कालिका र जनजागृती आधारभूत विद्यालयसम्म गाउँपालिकाले नै ढुवानी गरिदिने भएको छ । ती पोल पूर्बमन्त्री केसीले नै सिंहदेबी गुठीका नाममा उपलब्ध गराएको बताइएको छ । संघीय संसदको पछिल्लो निर्बाचनताका सदरमुकाम सल्लेरी पुर्याइएका ती पोल केसीले कुन प्रयोजनका लागि खरिद गरेका थिए भन्ने पुष्टि अझै भैसकेको छैन ।
केन्द्रीय प्रशारण लाइनको बिस्तार र तुइन्टार लघु जलविद्युत आयोजनाबाट बिजुली उत्पादन हुने निश्चित भएपछि केसीले गाउँपालिकाको जानकारी बिना नै जिल्ला प्रशासनलाई दबाब दिएर लकडाउनकै बीचमा नेचासम्म पोल ढुवानी गर्ने योजना बनाएका थिए । तर आफ्नै गाउँबासीहरु त्यो योजनामा बाधक बनेपछि पोल ढुवानीका लागि समेत गाउँपालिका गुहार्नु पर्ने अवस्थामा उनी पुगेका हुन् ।
केसीको योजना कार्यान्वयनका सहयोगी मानिएका आयोजना र गूठी पनि आयोजनाबाट उत्पादित बिजुली वडा नं. १ र २ का सम्पूर्ण घरधुरीमा विस्तार नगरी नेचा नतार्ने कुरामा सहमत भएका छन । सहमति पत्रमा उल्लेख भए अनुसार आयोजनाबाट उत्पादित विद्युत वडा नं. १ र २ मा आवश्यकताका आधारमा गाउँपालिकाले नै ब्यबस्थापन गर्ने भएको छ ।
त्रिपक्षीय सो सहमति पश्चात् आयोजनाको विद्युत बिस्तारका लागि भन्दै साबिक नेचा बेतघारीको वडा नं ४ र बतासेको १ नं वडाबाट उठाइएको प्रति घरधुरी ५ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने माग स्थानीयले गरेका छन । आक्रोशित स्थानीयले सहमतिस्थलमै सहमतिपत्र च्यात्ने प्रयास गरेपछि वडा नं २ का अध्यक्ष भेषकुमार बास्तोलाले उठाइएको रकम फिर्ता गर्ने आश्वासन दिएको बताइन्छ ।
त्रिबेणी जलविद्युत आयोजनाको विद्युत बिस्तार गर्ने भन्दै ती दुई वडाका बासिन्दाहरुबाट झन्डै ४ लाख रुपैयाँ उठाइएको थियो । आफुहरुसँगबाट रकम उठाएर पनि बर्षौंसम्म आयोजनाले बिजुली नदिएको सल्यानकै कतिपयले आरोप लगाउने गरेका छन ।
जनतासंग पैसा उठाएर निर्माण गरिएको योजना भएपनि बर्षौंसम्म साधारणसभा नगरी अध्यक्ष राइले मनोमानी गरिरहेकोमा स्थानीय निकै आक्रोशित छन । आयोजनाको बैठक नियमित र साधारणसभा नियमानुसार गर्नुपर्ने स्थानीयको मागको अझै सुनुवाइ नभएको गुनासो पनि उनीहरुको छ ।
भदौ ४ गते भएको सहमति


