फाप्लु बिमानस्थलमा हवाई इन्धन भण्डारण केन्द्र स्थापनाका लागि स्थलगत निरीक्षण
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ४ मा रहेको फाप्लु बिमानस्थलमा नेपाल आयल निगमको हवाई इन्धन भण्डारण (रिफ्युलिङ सेण्टर) स्थापनाको प्रक्रिया अघि बढेको छ।

नेपाल आयल निगमका प्राविधिक जगदीश यादव नेतृत्वको टोलीले बिहिबार रिफ्युलिङ सेण्टर स्थापनाका लागि स्थलगत अध्ययन गरेसंगै सो प्रक्रिया अघि बढेको हो।स्थलगत अध्ययन टोलीमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत रहेका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा,नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला र रक्षामन्त्री मानबीर राईका स्वकीय सचिब बच्चुनारायण श्रेष्ठको सहभागिता रहेको थियो।
फाप्लु बिमानस्थलमा हवाई इन्धन रिफ्युलिङ सेण्टर स्थापना भएर यसलाई हवाई उडानको केन्द्र बनाउन सकेको खण्डमा पर्यटन प्रबर्द्धनमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको नगरप्रमुख शेर्पाले बताए।फाप्लु बिमानस्थलमा नियमित उडान कम हुँदा पर्यटकीय गन्तव्यमा पुग्न आन्तरिक तथा बाह्य पर्यटकहरुले धेरै असुबिधा भोग्नुपरेको उनको भनाई छ ।
फाप्लु बिमानस्थलमा नियमित उडान नहुँदा सगरमाथा क्षेत्रको दृश्यावलोकनका लागि जाने पर्यटकहरुले पर्यटकीय सिजनमा खराब मौसमका कारण लुक्ला बिमानस्थलमा लामो समयसम्म रोकिनु पर्ने बाध्यताको अन्त्यकै लागि पनि हवाई इन्धन भण्डारण आवश्यक ठानेर नगरपालिकाले यसका लागि पहल अघि बढाएको बताउँदै उनले यसको स्थापनाले लुक्लाको उडान भर्न मन्थली पुग्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताए।

