सिरहाकि रिंकुकुमारी बलात्कार घटनाका मुख्य आरोपी पक्राउ
सिरहा । रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपीलाई पक्राउ गरिएको छ । घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

३० माघमा सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टापछि रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् ।
आफूमाथि बलात्कार भएको बताएकी रिंकु ३० माघको राति ७ः२० बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
मृत्युअघि रिंकुको आफूमाथि छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामूहिक बलात्कार गरेको बयानपछि घटना सामसुम पार्न वडासदस्यसहितका स्थानीयको संलग्नतामा गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।
उक्त घटना सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । त्यसपछि पीडित परिवारले रूपेशसहित आठजनाविरुद्ध पूरक जाहेरी दर्ता गराएका थिए ।
कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार शीर्षकमा पूरक जाहेरी दर्तासँगै अनुसन्धान अघि बढाइएको थियो ।

