अवैध सुन र चाँदीको कारोवार गर्ने चार भारतीय पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित नरदेवीमा अवैध सुन र चाँदीको कारोवार गर्दै आएका चार भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त जनसेवाको संयुक्त टोलीले फागुन ९ गते प्राप्त सूचनाको आधारमा घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले भन्सार छली गरी बिना बिलबिजकको सुन र चाँदीको कारोवार गर्दै आएका थिए ।

पक्राउ पर्नेहरूमा महाराष्ट्र, भारतका सोलापुर जिल्ला निवासी ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातु २४७.७२० ग्राम, चाँदी जस्तो देखिने सेतो धातु ५.६ किलोग्राम, र नगद रकम १० लाख ७५ हजार बरामद गरेको छ ।

बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्