शिक्षित समाज भएमा राष्ट्र बलियो हुन्छ

बंशीकुमार शर्मा
दाङ

नेपालको इतिहासमा धेरै पटक राजनीतिक परिवर्तनहरु भएका छन् । राजनीतिक परिवर्तनसंग संगै मुलुकको राजनीतिक व्यवस्था पनि परिवर्तन हुँदै आएका छन् । विगतका राजनीतिक परिवर्तनले आमनागरिकको जीवनसंग गाँसिएको पीडा र समस्याको वास्तविक कुरालाई सम्बोधन गर्न नसक्नुको कारणले नै सामाजिक, आर्थिक र जातिय समस्याहरु बढ्दै गएको देखिन्छ । यस्तो समस्या देखिनुको कारण परिवर्तन किन र कसका लागि भन्ने प्रश्न हो ? यदि समस्या समाधानको लागि परिवर्तन हो भने राज्यले त्यसतर्फ गम्भीरतापूर्वक सोच्न सक्नुपर्दछ । नत्र भने राजनीतिक परिवर्तनको औचित्य के ? किन राजनीतिक परिवर्तन चाहियो । समस्या ज्यू का त्यू नै हुन्छन् भने । त्यसैले प्रत्येक पटक परिवर्तन पश्चात राज्यको जिम्मेवारी लिएका पार्टी वा व्यक्तिले त्यसको जिम्मेवारी लिन जरुरी देखिन्छ । किनकी राजनीतिक परिवर्तन भए पश्चात सधै राज्यको जिम्मेवारी लिएका पार्टीहरुले केवल भाषणमा खोक्रो आश्वासन मात्र दिए भने नागरिकको जीवन शैलीसँग खेलवाड गरे, परिणाम स्वरुप राजनीतिक परिवर्तनको अनुभूति आमजनताले गर्न पाएनन्् । त्यसैले अझै पनि राज्यले नागरिकका समस्याहरुलाई विश्लेषण गरी समस्या समाधानको उपाय नखोज्ने हो भने अर्को भिषण आन्दोलन हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।
नेपालको पछिल्लो जनआन्दोलन(२ पछि प्रत्येक नागरिकहरुको राजनीतिक चेतनाको स्तर बढिसकेको अवस्था छ । समय र परिस्थिति अनुसार चेतना बृद्धि हुनु आफैमा राम्रो कुरो हो तर राज्य सञ्चालन गर्ने व्यक्तिहरुले निश्चित राजनीतिक सीमा घेराभित्र कैद गरी जनताहरुलाई गुमराहमा पारेका छन् । त्यो सीमा घेरा तोड्न जनताहरुलाई समय लाग्ने छैन । त्यसैले मुलुकमा आएको परिवर्तनपश्चात् जिम्मेवारी लिएका पार्टीहरुले प्रत्येक जनजाति, महिला, आदिवासी, अपाङ्ग, मधेसी, मुस्लिम, सीमान्तकृत जातिहरुको हकहित र अधिकार सुनिश्चित गर्नको लागि ठोस आधार तयार गर्न सक्नुपर्दछ । अन्यथा मुलुकमा अनिष्टकारी घटना हुनसक्छ ।
मुलुकलाई समृद्धशाली बनाउनको लागि आमूल परिवर्तनको आवश्यकता पर्दछ । त्यस्तो आमूल परिवर्तनको नामले होइन व्यवहारले हुन्छ । राजनीतिक परिवर्तन पश्चात् व्यवस्था प्रणाली परिवर्तन गरेर केही हुँदैन । वास्तविक तत्व परिवर्तन गरेर मात्र मुलुक समृद्धशाली बन्नसक्छ । नत्र भने प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामका मात्र हुन सक्छन् । व्यवस्था जे जति नामले परिवर्तन गरे पनि राज्य सञ्चालन गर्ने तरिका पुरानै भएको छ । त्यसमा कुनै परिवर्तन हुन सकेको छैन । नेपाली जनताको चाहना व्यवस्था परिवर्तन संगसंगै सबै कुराको परिवर्तन थियो । कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउको लागि मात्र नेपाली जनताले आन्दोलन गरेका होइनन् वास्तविक नेपालको स्वरुपलाई बदल्नको लागि आन्दोलनमा सहभागी भएका हुन् । तर विडम्बना मुलुकको नेतृत्व गर्ने व्यक्तिहरुले सबै कुरा बिर्सेर पुरानै तरिकाले राज्य सञ्चालन गर्न पुगे । परिणाम स्वरुप पुरानो ठाउँमा नयाँ कर्मचारी भर्ना भए । व्यवस्था परिवर्तन भयो । नयाँ नयाँ नेताहरु पैदा भए बहुदलीय प्रजातन्त्र संवैधानिक राजतन्त्रात्मक मुलुक संघीय गणतन्त्रमा परिणत भयो । तर मुलुकमा देखिएका समस्याहरु झन्झन् थपिदै गए भने नेपाली जनताहरु दिन प्रत्येक दिन असुरक्षित हुँदै गैइरहेका छन् र राष्ट्र पनि असफल राज्य तिर गइरहेको छ ।
यस्तो कहाली लाग्दो परिस्थितिले गुज्रिएको मुलुकका नेतृत्व व्यक्तिहरुले सदियौ देखि मिलेर आएको समाज व्यवस्थालाई सस्तो लोकप्रियताको लागि जातीय विभाजन गराइ एक आपसमा लडाई स्वार्थ पूर्ति गर्ने चेष्टा गरेका छन् । त्यसतर्फ सबै जातजाति चनाखो हुनुपर्ने अवस्था आएको छ । किनकी नेपालको इतिहासमा विभिन्न जातजाति, धर्म धर्मावलम्बी, भाषाभाषी र संस्कृति भए तापनि आपसी सद्भाव र राष्ट्रियताको सवालमा गोलबन्द भएको इतिहास साक्षी छ । त्यसैलाई कायम गर्नु नै बुद्धिमानी हुनेछ । विश्वमान चित्रमा एकतामा विविधता भनेर चिनिएको मुलुक आज जात जातिका मुद्दा उठाएर डलर खेती गर्नेहरु सक्रिय भएका छन् ।
कुनै जातिको स्तर बृद्धि गर्नको लागि जातजातिले कुनै रोकावट गर्दैन । गरिबी, अशिक्षाको दुस्मन जातीयता होइन । गरिबी, अशिक्षाको बाहनामा जातीयता विभाजन गर्न खोज्नु त्यो नै दुस्मन हो । मानव कल्याण सबैको दायित्व हो । मानव सबै बराबर नै हुन । केवल परम्परादेखि चल्दै आएकोले आ–आफ्नो तरिकाले धर्म, संस्कृति मनाउदै आएका मात्र हुन । सबैलाई आ–आफ्नो धर्म, संस्कृति मनाउने अधिकार छ । सबैले आ–आफ्नो धर्म मनाएका छन् । कही कतैबाट रोकावट आएको छैन र आउनु पनि हुँदैन् । नेपालको इतिहासमा परापूर्वकालदेखि सबै जातजाति मिलेर बसेको इतिहास साक्षी छ । नेपालको भूगोलमा वैदिक आर्य जाति र मंगोलियन जाती बस्दै आएका हुन र अहिले पनि बस्दै आएका छन् । धेरै बर्षदेखि संगसंगै बस्दै आएकाले दुबै जातिको धर्म संस्कृति, रहन सहनको मिश्रणले नयाँ संस्कृति उब्जीएको हो । विविध संस्कृति नै हाम्रो पहिचान हो ।
नेपालको पहिचान नै विविधता हो । दुबै जातिले एक अर्काको धर्म संस्कृति प्रति आस्था राख्दै आए, दुबै जातिले संगसंगै मनाउदै आए । अहिलेसम्म सबै समाजमा मिल्दै आएका छन् र समाजमा मिलेर बसेका छन् र एक अर्कालाई सम्मान गरेका छन् यही नै नेपालीको मौलिकता हो । मौलिकताको जगेर्णा गर्दै नेपाली जागरुक हुनुपर्दछ । तर विडम्बना मिलेर बसेको समाजलाई पश्चिमा धर्म संस्कृति लाद्नको लागि जाति स्वतन्त्रताको नारा दिई विभाजन गर्न खोज्दै छन् । बैद्धिक आर्य सभ्यताको ठाउँमा पश्चिमा सभ्यता स्थापना गर्न खोज्नेलाई के थाहा ? धर्म र संस्कृतिको शाक्ति कति हुन्छ भनेर ? आज धर्म सस्कृतिको नाममा जातीयता प्रयोग गर्न खोजेका हुन । विकासोन्मुख मुलुक र अस्थिर राजनीतिकको फाईदा उठाउन विभिन्न खालका शक्तिहरुले आफ्नो शक्ति प्रयोग गर्ने गर्दछन् । त्यसैको प्रयोग नेपालमा पनि गर्न खोजेका हुन । तर नेपालमा बसोबास गर्नै जातिहरु धैरै वर्षदेखि मिलेर बस्दै आए । फुटाउनको लागि दुई चार जनालाई किनेर जातीय, क्षेत्रीय मुद्दा उठाएर मुलुकमा अस्थिरता फैलाउने दुस्प्रयास गरेकै हुन अझै गर्ने प्रयास गरेको देखिन्छ । यसतर्फ नेपाली जनताहरु सचेत हुनै पर्दछ । बरु समाजमा रहेका विद्यमान कुरितिहरुलाई हटाउँदै समाजलाई सुधार गर्दै अगाडी बढ्नु पर्दछ । सुधार गर्ने बाहनामा जातजाति बिच बैमनस्यता, झगडा गराउनु हुदैन ।
कुनै पनि परिवर्तन एकै चोटी हुदैन । यदि एकैचोटी परिवर्तन गर्ने प्रयास गरियो भने त्यसको प्रतिफल राम्रो हुँदैन । यदि परिवर्तन भए दीर्घायू हुँदैन । परिवर्तनको मुख्य आधारशीला शिक्षा नै हो । जब मानिस शिक्षित हुन्छ । अरु सबै कुरा गौण हुन्छन् । हिन्दू धर्मशास्त्रमा पनि उल्लेख गरिएको छ । गुणि मानिस सबै ठाउँमा पुज्य हुन्छ । तसर्थ मानिसलाई गुणी बनाउनु पर्दछ । गुणी बनाउने तत्व शिक्षा नै हो । शिक्षित समाज भएमा राष्ट्र बलियो हुन्छ । तसर्थ हामी सबै समाजलाई जातजातीयतामा विभाजन गर्नुभन्दा शिक्षामा जोड दिँदै समाजमा जगडिएर रहेको विसङ्गति, अशिक्षा, गरिबी हटाउन अग्रसर होऔं जसले गर्दा समाजलाई जातजातीमा विभाजन गरी फाइदा लिने कुचेष्टा गरेका छन । उनीहरुले सधै जनताहरुलाई एक आपसमा अल्झाई रहेका छन् । यसरी नेपालको इतिहाको अमूल्य नीतिलाई कायम राख्दै समतामुलक समाजको निर्माण गर्दै मुलुकमा देखिएका चुनौतीहरुलाई समाधानको लागि गोलबन्द हुनु नै सबैभन्दा बुद्धिमानी हुनेछ । यसैमा नै राष्ट्रले गौरब गर्नेछ ।

