कोशी प्रदेश सरकार गठन विवाद : सुनुवाइका लागि आज पूर्ण इजलास तोकिंदै
काठमाडौं । सभामुख बाबुराम गौतमको समेत मतमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि उत्पन्न कोशी सरकार गठनको संबैधानिक विवादको निरुपणका लागि सर्बोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाइ हुने भएको छ।

कोशी प्रदेशमा उद्धव सरकार गठन प्रक्रियाविरुद्ध पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । अब यो मुद्दा मंगलबारदेखि नै तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाइ हुनेछ । पूर्ण इजलास आज तोकिने छ ।
सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अनुसार संयुक्त इजलासलाई कुनै मुद्दामा जटिल कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने लागेमा पठाउन सक्ने व्यवस्था छ ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।
२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
त्यसपछि एमाले संसदीय दलका नेता कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

