सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति



तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाअध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।

आफ्नै वडाका सचिवमाथि कुटपिट गरेको आरोपमा प्रहरीले गुरुङलाई सोमबाार पक्राउ गरेको थियो।मंगलबार अभद्र व्यवहारमा म्याद थपका लागि उपस्थित गराइएको र प्रशासनले १० दिनको म्याद दिएकोका तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताए।

सोमबार बिहान वडाध्यक्ष गुरुङले आफ्नै वडाका सचिव नवीन भुसाललाई कुटपिट गरेका थिए।वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले कुटपिट गरेको आरोप छ। गाउँपालिकाले वडासचिवमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा वडाध्यक्षलाई पक्राउ गरेको एसपी शाहीले बताए।

एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङले कुटेका भुसालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्