एमाले र माओबादी केन्द्रबीच कुनै तात्विक अन्तर छैन : डा बाबुराम
काठमाडौं।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को जारी महाधिवेशनमा बन्दसत्र सुरु भएको छ। आजबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनमा बन्दसत्र सुरु भएको हो।

उक्त सत्रमा संयोजक डा.बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको प्रचारप्रसार विभाग प्रमुख मानुषी यमि भट्टराईले जानकारी दिइन्।
नेसपा नयाँ शक्ति महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष मण्डल गठन गरिएको छ। अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी रहेका छन्।
३२ पृष्ठको राजनीतिक प्रतिवेदनमा डा.भट्टराईले वैकल्पिक नयाँ शक्ति निर्माणका लागि वैचारिक र साङ्गठनिक आधारहरू प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनको शीर्षक नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक शक्तिको औचित्य र आधार रहेको छ।
प्रथम महाधिवेशनमा भट्टराईले पेश गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा उनले बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माओवादी केन्द्रको मूल नेतृत्व भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेकाले एमाले र यसमा कुनै तात्विक भिन्नता नरहेको बताएका हुन् ।
उनले‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन् तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माकेबीचमा कुनै तात्विक अन्तर छैन,’– उनले प्रतिवेदनमा भनेका छन् ।
साथै, पटक–पटक सत्ताको नेतृत्व गरे पनि माओवादी–एमाले धारले देशका गम्भीर संरचनात्मक समस्या समाधान गर्न नसकेको उनको दाबी छ । डा.भट्टराईले भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, एमाले–माओवादीका नेता र उच्चतहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदि कारणले आम जनताले कांग्रेस र कम्युनिस्टमा कुनै फरक महसुस गर्न नसकिरहेको बताएका छन् ।

