नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,८ करोड बढी भ्रष्टाचार गरेको आरोप
काठमाडौं।काठमाडौँको नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध करिब ९ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसाको स्रोत पुष्टि गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार नगरप्रमुख बस्नेत र निजका एकाघर परिवारका सदस्यहरुले जाँच अवधिमा कूल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ र २५ पैसा आय आर्जन गरेकोमा २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको देखिँदा निजको जाँच अवधिको कूलरसमग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक देखिएको छ ।
यस्तै अख्तियारले अनुसन्धानका क्रममा बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको दाबी गरेको छ ।
निज बस्नेत उपर सो रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय हुन माग दाबी गरिएको छ ।
साथै, लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन तथा जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती उर्मिला बस्नेतलाई प्रतिवादी कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

