गठबन्धन सरकार अहिले नै ढल्ने विषयमा सत्यता छैन : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले
नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन सरकार अहिले नै ढल्ने विषयमा सत्यता नभएको बताएका छन्।

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सो कुरा बताएका हुन्। बताउँदै नेता कोइरालाले सात बुँदे सम्झौता अनुरुप गठबन्धन सरकारले काम गर्नुपर्नेमा भने उनले जोड दिए । उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गंभीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्ने हो। ६ महिनाको यो अवधि काममा धेरै त होइन । तर जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’

देश सरकारले चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संयन्त्रबाट चलाउन खोजिरहेको आरोप लगाउँदै उनले लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने बताएका छन् ।

उनले भने, ‘लोकतान्त्रिक ब्यवस्थामा संयन्त्रले देश चलाउने होइन भन्ने बुझ्नु पर्‍यो । सरकारले चलाउने हो । संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्रीजी त्यो गलत हो । विल्कुल गलत हो । सरकारमा कांग्रेसबाट उपप्रधानमन्त्री, मन्त्रीहरू हुनुहुन्छ ।’

सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि ब्यक्त गरे । संसद नराखी अध्यादेश ल्याउनु गलत भएको बताउँदै उनले भने,’‘देशै नचल्ने अवस्थामा अध्यादेश ल्याउनुपर्ने हो । अहिले विषयबस्तु अनुसार ल्याइएका सबै अध्यादेश खराब छ भन्दिनँ। केही अध्यादेश राम्रा छन् । तर संसद बोलाएर अध्यादेश ल्याउनुपर्ने थियो । माघ १८ गते संसद बोलाएको छ । अध्यादेशपनि केहीसमय पर्खेर संसद खोलेर ल्याउँदा हुने थियो नि । ६ महिनामा केही भएर सातदिन दसदिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि।’ file foto

प्रतिक्रिया दिनुहोस्