खुम्बु पासाङल्हामुमा प्राबिधिक शिक्षालय सन्चालन गर्न कार्यबाहक अध्यक्ष शेर्पाको माग

खगिन्द्र बास्तोला ||

काठमाडौं, २९ साउन ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेल र खुम्ब पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि बीच भेटवार्ता भएको छ ।
माननीय मन्त्रीको कार्यकक्षमा बुधबार भएको उक्त भेटमा खुम्बु पासाङल्हामु क्षेत्रभित्र कोभिड- १९ जोखिम न्यूनीकरण तथा सुरक्षित शैक्षिक वातावरण निर्माण गरी विद्यालय पुन: सञ्चालन सम्बन्धी छलफल भएको गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।शेर्पाका अनुसार खुम्बु क्षेत्रभित्र प्राविधिक शिक्षालय सञ्चालनका लागि तत्काल पहल गरिदिन गाउँपालिका कार्यवाहक अध्यक्ष टाशी ल्हामु शेर्पाले मन्त्री पोखरेलसंग माग गर्नु भएको थियो ।

शेर्पाले खुम्बु पासाङल्हामु गाउँपालिका छुट्टै सुरक्षित स्थानमा रहेकोे र विद्यालय सञ्चालन लागि आवश्यक पूर्वाधार र मापदण्ड पूरा गरिएको हुनाले विद्यालय पुन: सञ्चालन गर्न अनुमति माग्नुभएको थियो । छलफलका क्रममा मन्त्री पोखरेलले विद्यालय पुन: सञ्चालनका लागि मौखिक सहमति प्रदान गरी गाउँपालिकाबाट प्राप्त प्रस्तावनालाई नमुनाको रुपमा लिई प्रधानमन्त्री तथा मन्त्री परिषदको बैठकमा छलफल चलाउने धारणा दिनुभएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका प्रधानाध्यापक, स्वास्थ्य विषय शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष र सरोकारवालासँग कोभिड – १९ जोखिम न्यूनीकरण सम्बन्धी सुरक्षित शैक्षिक वातावरण निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको हुनाले विद्यालयमा आइपर्ने समस्या सम्बन्धी सुरक्षा विधि अपनाई भाद्र १ गतेबाट पहिलो चरणको विद्यालय चेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ ।

