खुम्बु पासाङल्हामुको ठमीछहोवा युबा समूहमा नयाँ समिति

खगिन्द्र बास्तोला

सोलुखुम्बु, २८ साउन।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ मा रहेको ठमीछ्होवा युवा समुहको तेस्रो अधिवेशन तथा बार्हौं साधारणसभा सम्पन्न भएको छ ।
बुद्धिजीवी डा. कामीतेम्बा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले पासाङदिकी शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।सर्वसम्मत रुपमा चयन भएको १३ सदस्यीय ठमीछ्होवा समूहको उपाध्यक्ष फुराछिरिङ शेर्पा, महासचिव ङिमा तेन्जिङ शेर्पा, सचिब फुराकामी शेर्पा, कोषाध्यक्ष मिङ्मानुरु शेर्पा, सदस्यहरुमा मिङ्मा तेम्बा शेर्पा, पेम्बादिकी शेर्पा, पासाङ शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, रिताफुटी शेर्पा, ङिमा ग्याल्जेन शेर्पा र पासाङछिरिङ शेर्पा रहनुभएको छ।
साधरण सभामा समूहका सह सचिब ङिमा तेन्जिङ शेर्पाले समूहको कार्य प्रगति विवरण र कोषाध्यक्ष पेम्बादिकी शेर्पाबाट वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विगतका दिनहरुमा समूहबाट भए गरेका कार्य प्रगतिको समीक्षा एवं ठमीछ्होवा क्षेत्रको पर्यटन विकासका लागि निकट भविस्यमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा पर्यटकीय गतिविधि बढाउन रचनात्मक कार्यक्रम आयोजना गर्ने, सुविधाजनक खेलमैदान निर्माण, आफ्नै स्वामित्वमा भवन निर्माण, युवा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम आयोजना गर्ने लगायतका भावी योजना समेत तयार गरेको छ ।
साधारणसभामा गाउँ गार्यपालिका सदस्य,वडा सदस्य, स्थानीयहरुको बाक्लो उपस्तिथि थियो।समूहको अध्यक्ष यसअघि पासाङ ग्याल्जेन शेर्पा थिए।
यस युवा समुह बिक्रम सम्वत २०६५ सालमा यस क्षेत्रको युवाहरुलाई एकजुट गराई यस क्षेत्रको सास्कृतिक जगेर्नाका साथै सामाजिक तथा भौतिक बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ खु.पा.गा.पा-५ का स्थानीय श्री छिरिङ दोर्जी शेर्पाको अध्यक्षता स्थापना भएको थियो। यस क्षेत्रका बिद्यालयमा स्वच्छ ताजा खाजाको प्रयोग गर्न विद्यार्थीहरुलाई उत्साहित गर्ने उद्देश्यले टिफिन बकस वितरण ,नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्त समितिको सहयोगमा बर्सेनि नियमित रुपमा चोरी शिकारी नियन्त्रणका लागि वनगस्ती , महत्त्वपूर्ण चाड डुम्जीमा प्रयोग गर्न तथा प्लास्टिकको झोला प्रयोग निरुत्साहित गर्न कपडाको झोला वितरण , विभिन्न दातृ निकायहरुको आर्थिक सहयोगमा मारालुङ, यिलाजुङ तथा मुसुममा ३ ओटा पक्की पुल निर्माण , जोखिमपूर्ण बाटोको मर्मत सम्भार, दातृ निकायहरुको सहयोगमा युवाहरुलाई सिपमुलक तालिम प्रदान लगायत महत्त्वपूर्ण कार्यहरु यस समुहले स्थापनाकालदेखि गर्दै आएको छ।

