उपत्यकामा तत्काल लकडाउन नहुने , जहाँ संक्रमित भेटियो त्यंही सिल गरिने

काठमाडौ २३ साउन । काठमाडौं उपत्यकामा जहाँ संक्रमण बढी देखिएको छ, त्यहिं सिल गरिने भएको छ।उपत्यकाका तीन जिल्ला का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो।मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन् ।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न बसेको सो बैठकमा जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको बताइएको छ। सोही बैठकको निर्णय अनुसार काठमाडौंका टेकु र महाबौद्ध एरिया सिल गरिएको छ।
सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।
उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृहमन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि उपत्यकाका प्रजिअहरुले सहमति गरेका छन् ।

