दशैं अगाडि विपी राजमार्ग खुल्ने सम्भावना छैन : मन्त्रालय



काठमाडौं।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दशैंअघि खुल्ने सम्भावना नरहेको बताएका छन्।

मन्त्रालयको टोलीले स्थलगत अवलोकन गरेर आएको भन्दै बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिब शर्माले सो कुरा बताएका हुन।खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धारमात्र गरिने बताउँदै उनले भने, ‘अन्य सवारीसाधन चलाउन सकिने गरी खुलाउन नसकिने अवस्था छ ।’

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाई यातायात सुचारु गरिएको छ । हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको मन्त्रालयको भनाइ छ ।

प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको सचिव शर्माले बताए । उनले भने, ‘क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनस्र्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयको छ ।’

असोज १४ देखि कोजाग्रत पूर्णिमासम्म देशभर रुट परमिट खुला गरिएको छ । यसैगरी यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्