बिपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार , २२ जनाको खोजी कार्य जारी
काठमाडौं।गृह मन्त्रालयले बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको जनाएको छ ।

असोज ११ र १२ गते परेको अविरल बर्षाका कारण आएको बाढी ,पहिरो र डुबान जस्ता प्राकृतिक विपद्मा खोज उद्धारमा खटिएको नेपाली सेना,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी र स्वयम्सेवकबाट आज विहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।
उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी जारी रहेको जानकारी दिँदै विपद्का घटनामा घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताए ।
‘घाइते मध्ये अघिकांश घर फर्किसक्नु पनि भएको छ,’ प्रवक्ता तिवारीले भने, ‘विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत सामग्री समेत वितरण गरिएको थियो ।’ गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याकाबाट २ हजार १५८, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ , सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।
‘प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते,बालबालिका,जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर यो अवधीमा उद्दारकार्य गरियो,’ उनले भने, ‘खोज तथा उद्दारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रुपमा भइरहेको छ ।’
त्यसैगरी गृह मन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेका छन् । उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उद्धार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरूको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरुसित पनि छलफल गरेका थिए ।
त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ । भने प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ ।
सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ । कार्यदललाई प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ ।

