आदर्श गुरु राई सर



– प्रभुनारायण बस्नेत ||

राई सर अर्थात् खड्गबहादुर राई । यो नाम बिक्रमाब्दको २०३० को दशकसम्म सोलुखुम्बु, खोटांग र ओखलढुंगाको सीमावर्ती क्षेत्र ऐंसेलुखर्क इलाकामा आदर र सम्मानका साथ उच्चारण गरिन्थ्यो । पुर्व तीन नम्बरको शैक्षिक जागरण आन्दोलनमा यो नाम स्वर्ण अक्षरले लेखिनु पर्ने हो तर, मृत्युपर्यन्त शिक्षण पेशामा आब४ एक हस्तीको जीवनलीला समाप्त भएसंगै विस्मृतिको गर्तमा विलिन भएर गयो । सम्बत २००७ सालदेखि अनवरत चार दशक चेतना प्रवाहको ज्योतिपुञ्ज बनेर रहेका राई सरको अहिले नामोनिशान छैन । उनले सिंगान पुछिदिएका, हात समाएर कखरा सिकाएका थुप्रै व्यक्ति अहिले पनि जीवित छन् र कति त राज्यको महत्वपूर्ण स्थानमा आसिन छन् । तिनको स्मृतिपटलमा राई सरको छवि शायदै रहेको होला । पूर्व तीन नम्बरको महत्वपूर्ण प्रशासनिक केन्द्र ऐंसेलुखर्क कुनै बेला व्यापारिक केन्द्रको रुपमा पनि परिचित थियो । मूलतः राजभण्डारी नेवारको बस्ती रहेको त्यो पूर्वाञ्चलकै पुरानो बजार हो ।

राणा शासन अन्त्यसंगै त्यहांका व्यापारीमा स्कुल खोल्ने र राणाकालसम्म अप्राप्य रहेको शिक्षाको दियो जलाउने इच्छा पैदा भयो । र त्यसको मियोको रुपमा रहनुभयो राई सर । रिब्दुंग राई गाउंका बासिन्दा राई सरको शिक्षादीक्षा कहां भयो, कसरी भयो, उहांको औपचारिक अध्ययन कति हो त्यो कसैलाई थाहा थिएन । यहांसम्म कि उहांको नाम खड्गबहादुर हो भन्ने समेत धेरैलाई थाहा थिएन । अत्यन्त तेज र मेधावी व्यक्तित्व राई सरले कालान्तरमा नेपालबा६ै प्रवेशिका परीक्षा उतीर्ण गर्नुभयो । तर २००७ सालमा ऐंसेलूखर्कमा स्कुल स्थापना गर्दा र त्यसको हेडमास्टर हुंदा उहांको हातमा त्यो लाइसेन्स थिएन । २००७ सालदेखि अनवरतरुपले अध्यापन कर्ममा जुट्नु भएका राई सरले मृत्युपर्यन्त त्यो कर्म त्याग्नुभएन ।

दोश्रो विश्वयुद्धको बेला वर्मा (म्यानमार)बाट आफ्ना अभिभावकका साथ हिंड्दाहिंड्दै महिनौं लगाएर उहां पूर्व तीन नम्बरको रिब्दुंग राई गाउं आइपुग्नुभएको थियो । बिपन्न ग्रामीण किसान परिवारमा जन्मनुभएका राई सरको क्षमता गजबकै थियो । उहां दश कक्षाका बिद्यार्थीलाई अंकगणित र अंग्रेजी भाषा पढाउनुहून्थ्यो । जब कि उहां स्वयम् एसएलसी मात्र उतीर्ण हुनुहुन्थ्यो । स्कुलमा उहांका बारेमा अनेक खालका चर्चा सुनिन्थे । एक प्रकारले उहां जीवनकालमै किंबदन्तीको पात्र हुनुहुन्थ्योे । वर्माबाट हिंड्दै आउने शाहसी पुरुषको बारेमा बिद्यार्थीबीच नै निकै रोचक चर्चा चल्ने गथ्र्यो, त्यसमध्ये एउटा थियो उहांले एसएलसी दिंदाको प्रशंग । उहां प्र.अ. रहेर खुलेको स्कुल २०२३ सालमा हाइस्कुल भयो । नयां शिक्षा लागू हुनुअघि प्राथमिक बिद्यालयलाई प्राइमरी स्कुल, निम्न माध्यमिक बिद्यालयलाई मिडिल स्कुल र माध्यमिक बिद्यालयलाई हाइस्कुल भनिन्थ्यो । प्राइमरीको शिक्षक हुन एसएलसी, मिडिल स्कुलको शिक्षक हुन प्रवीणता प्रमाण पत्र तह र हाइस्कुलको शिक्षक हुन स्नातक तह उतीर्ण गरेको हुनुपथ्र्यो । तर राई सर एसएलसी मात्र उतीर्ण भए पनि हाइस्कुलका बिद्यार्थीलाई त्यो पनि अत्यन्त कुशलतापूर्वक पढाउनुहुन्थ्यो । ऐंसेलुखर्कको त्रिभुवन हाइस्कुलका प्रायःजसो शिक्षक कुनै बेला उहांले नै पढाएका बिद्यार्थी थिए । आइए, बिए, एमए गरेका उहांका बिद्यार्थीहरुले आफ्ना अण्डर एसएलसी गुरुलाई एसएलसी दिन सुझाए । शुरुमा उहांले त्यसलाई खासै महत्व दिनुभएन । तर सबै शिक्षक साथीहरुले बारम्बार कर गरेपछि उहां एसएलसी दिन राजी हुनुभयो र एसएलसी परीक्षामा सहभागी हुनुभयो । तर दूर्भाग्यको कूरा, उहां एसएलसीमा फेल हूनूभयो ।

उहां स्कुलमा जुन विषय अध्यापन गराउनुहुन्थ्यो त्यही विषयमा उहां फेल हुनुभयो । २०२८ सालमा नयां शिक्षा लागू हुनुअघि एसएलसी दिने बिद्यार्थीले अंग्रेजी मात्रै दुई पेपर पढ्नुपथ्र्यो, फस्ट पेपर र सेकेण्ड पेपर । अंग्रेजी व्याकरण अर्थात ग्रामर उहांले पढाउनुहुन्थ्यो । त्यही विषयमा उहां फेल हुनुभयो । भएछ के भने धेरै वर्ष ग्रामर पढाउंदा पढाउंदा उहांलाई कोर्स कण्ठै थियो । एसएलसीमा उहांले सयमा सय मिलाउनु भएछ । कपी जांचकीलाई यो शिक्षक हो, यसलाई सबै थाहा छ भन्ने ज्ञान हुने कुरै थिएन । उसले चोरेको ठानेर फेल गराइदिएछ । अर्को वर्ष त्यो कुरा बुझेर तदनुसार नै उत्तर लेख्नुभयो र पास पनि हुनुभयो । उहां ऐच्छिक गणित नलिएर ऐन श्रेस्ता लिने बिद्यार्थीहरुलाई अंकगणित पनि पढाउनुहुन्थ्यो ।

पढाउने कुरामा पनि उहांका केही विशेषता थिए । उहां मेधावी, अलि कमजोर र निकै कमजोर बिद्यार्थीका बीचमा भेद गर्नुहुन्नथ्यो । धेरैजसो शिक्षकहरु उत्कृष्ट नतिजा हासिल गर्ने, अतिरिक्त क्रियाकलापमा सक्रिय आदि गुण भएका बिद्यार्थीलाई प्रिय शिष्य मानेर अलग्गै व्यवहार गर्थे । त्यो स्वभाविक पनि हो । गुरु द्रोणले आफ्नै पुत्र अश्वत्थामालाई भन्दा अर्जुनलाई विशेष माया गर्नु र उनलाई आफ्नो प्रिय शिष्य ठान्नुको पछाडि अर्जुनको प्रतिभा र विशेष क्षमता नै थियो । ऐंसेलुखर्कमा पनि अत्यन्त तेज, मेधावी र प्रतिभाशाली बिद्यार्थीको कमि थिएन र स्वभाविकरुपमा अत्यन्त कमजोर बिद्यार्थी पनि थिए । तर दुवै खालका बिद्यार्थी उहांको दृष्टिमा मात्र बिद्यार्थी थिए र समान व्यवहारका हकदार पनि ।

पठनपाठनमा पनि उहां अत्यन्तै लगनशील हुनुहुन्थ्यो । मैले कक्षा ६ देखि कक्षा १० सम्म पांच वर्ष उहांको बिद्यार्थी भएर पढ्दा उहां शायदै कुनै दिन अनुपस्थित रहनुभयो । ठीक समयमा स्कूल आउनु, समयमा कक्षा कोठामा पुग्नु र पठनपाठनमा निरन्तर लाग्नु उहांको विशेषता थियो । त्यो समय कस्तो थियो भने स्कुल जानु र पढ्नु कुनै पनि बालबालिकाको लागि ऐच्छिक काम ठानिन्थ्यो । घरको काम गर्नु र अभिभावकले लगाएको काम गर्नु तिनको प्राथमिक र अनिवार्य कर्तव्य मानिन्थ्यो । धेरै पछि पढाइको महत्व बुझेर पढ्न स्कुल जानेको पनि ठूलै जमात हुन्थ्यो । त्यसले गर्दा कतिपय बिद्यार्थी त शिक्षकभन्दा जेठा हुन्थे । जे भए पनि उहां नदीको तटमा बसेर पारी जान खोज्नेलाई तारिरहनुहुन्थ्यो । यात्रीको उमेर, औकात, वर्ण, लिंगप्रति उहांलाई मतलब रहंदैनथ्यो ।

त्यसबेला शिक्षक समाजको रोलमोडल हुन्थ्यो । अहिले जस्तो प्रविधिको सुबिधा थिएन । इन्टरनेट, सामाजिक सञ्जाल, एफ.एम., टेलिभिजन, अनलाइन मीडिया केही थिएनन् । यहांसम्म कि टेलीफोनको सुबिधा समेत थिएन । चिठीपत्रद्वारा समाचार पठाउंदा ढिलो हुने, अति आवश्यक कामका लागि आकाशवाणी (आ.वा.)बा६ खबर पठाउनु पथ्र्यो । त्यो सुबिधा पनि सबै ठाउंमा थिएन । त्यसका लागि ओखलढुंगा पुग्नुपथ्र्यो । गाउंमा हुनेखाने र देश परदेश गर्नेहरुले रेडियो र टेपरेकर्डर ल्याएका हुन्थे । त्यस्तो सुबिधा हुने घर पूरै गाउंमा एउटा दुइटा हुन्थे । त्यस्तो समयमा गाउंघरमा, हाटबजारमा, बाटोघाटोमा ठांटिएर हिंड्ने, जागीर भएको कारण खल्तीमा दुइचार रुपैयां नटुट्ने, समाजको बुज्रुग व्यक्ति र शिक्षा दिने दाता हुनुको नाताले शिक्षकको औधी मानमनितो हुन्थ्यो । सबैले आदर सम्मान गर्ने, प्रणाम गर्ने र बाटोमा शिक्षक देखे अदवका साथ व्यवहार गर्ने परम्परा नै हुन्थ्यो । गाउंका केटाकेटीहरु धेरै पढेर आफू पनि मास्टर नै हुने सपना बुन्थे । त्यसैले त्यो बेला शिक्षकको स्थान निकै उंचो थियो भन्नुपर्छ तर उहांलाई भने मानसम्मान, चमकदमक आदिले छुँदैनथ्यो ।

उहांले जीवनभर एक प६क पनि दारी काट्नुभएन । देशी नरम कपडा लगाउनु भएन । जीवनमा कहिल्यै चप्पल, जुत्ता लगाउनु भएन । मैले देख्दाको समयमा उहांको हुलिया यस्तो थियो, पुड्को वदन, फुलिसकेका पातला दारीजुंगा, चाउरी परेको अनुहार, जिंग्रिंग केश, पटपटी फुटेका पैताला, खस्रा र ठेला उठेका हत्केला, खाडीको पतलुन र खाडीकै कमीज, कमीजमा तुनाजस्तो बनाएका बटनघर, काठका बटन र हिउंद महिनामा गर्भे भेडाको ऊनबाट बुनेको लुकुनी । बस् त्यही थियो उहांको बाहिरी व्यक्तित्व । तर बाहिरी व्यक्तित्व, पोशाक, जीउडाल त देखावटी कुरा हुन् । कुनै पनि व्यक्तिको असली पहिचान उसको भित्री गुण, नियत, क्षमता र इमानमा निर्भर गर्छ । संसारमा त्यस्ता थुप्रै उदाहरण छन् । जो हेर्दा कुरुप लाग्छन् तर तिनको अन्तरमा रहेको देदीप्यमान व्यक्तित्वले पूरै समाजलाई आलोकित गराएका हुन्छन् । ऋषि अष्टावक्रले आठ ठाउंमा बांगिएको शरीर लिएर मानव समाजका लागि महत्वपूर्ण काम गरे । संसारमा पहिलो पटक कम्युनिष्ट राज स्थापित गर्ने भी. आइ. लेनिनको बाहिरी व्यक्तित्व पनि आकर्षक थिएन । अमेरिकी पत्रकार जोन रीडका अनुसार उनी पुड्को कद, ख्याउटे शरीर, हडड्ी उठेका गाला, चुस्स दारी, टालेका कपडामा सांच्चै अनाकर्षक लाग्थे । तर उनको प्रतिभा र क्षमताले संसारलाई नै हल्लाइदियो । महात्मा गान्धीको त हेर्दै घिन मान्नुपर्ने खालको जीउडाल, पहिरन र रहनसहनले कति पटक स्वयम् उनलाई संकटमा फंसाएको थियो । तिनै गान्धीले भारतबाट अंग्रेजलाई लखेट्ने आन्दोलनको नेतृत्व गरे । र, अहिले पनि उनलाई संसारले अहिंसात्मक आन्दोलनको प्रणेता मान्छ । यस्ता उदाहरण खोजी पसे थुप्रै भेट्न सकिन्छ ।

राई सर पनि उनलाई नचिन्नेका लागि त्यस्तै हुनुहुन्थ्यो । उहां राई गाउंदेखि हरेक दिन दुई घण्टा हिंडेर ऐंसेलुखर्क आउनुहुन्थ्यो र स्कुल घुट्टी भएपछि डेढ घण्टा हिंडेर घर पुग्नुहुन्थ्यो । त्यो बीचमा उहांलाई चिन्ने नचिन्ने थुप्रैसंग बा६ोमा भेट हुन्थ्यो । चिन्नेले राई सरको रुपमा उहांलाई आदर सम्मान गर्थे भने नचिन्नेले एउटा गंवार किराती ठानेर वेवास्ता गर्थे । मान्छेको जीउडाल, लवाइखवाइ उसको असली पहिचान हुन सक्दैन । उसले समाजलाई गरेको सेवा, आफ्नो लक्षप्रतिको निष्ठा, इमान, त्यागतपस्याले नै मान्छेलाई महान बनाउने हो, सम्पत्ति, पद, शारीरिक आकर्षणले होइन । राई सर पनि महान हुनुमा उहांको निष्ठा, इमान्दारी र त्यागले नै काम गरेको छ ।

उहांले अन्धकारमा रहेको समाजलाई मनसा, कर्मणा, बचन शिक्षाको उज्यालो दिने कोशिश गर्नुभयो । उहां सही अर्थमा गुरु हुनुहुन्थ्यो । ऐंसेलुखर्क वरिपरिका बीसभन्दा बढी गाउंपञ्चायतहरुको शैक्षिक जागरण अभियानमा उहांले महत्वपूर्ण भूमिका निभाउनुभयो । तर त्यसको कदर न त त्यो बेलाको समाजले गर्यो, न प्रशासनले गर्यो, न त उनका बिद्यार्थीले नै । गुरुलाई हाम्रो समाजमा इश्वरको रुप ठान्ने प्रचलन छ । त्यसैले भनिन्छ गुरुव्र्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुर्साक्षात् परःब्रम्ह तस्मै श्री गुरुभ्ये नमः । गुरुको स्थान के हुन्छ भन्ने हामी सबैले बुझेका हुंदैनौं । शिक्षकले आफ्नो इच्छा विपरित केही गर्यो भने उनलाई पिट्न तयार हुने बिद्यार्थीको कमि छैन । आजको शिक्षा नैतिक मूल्यबाट स्खलित भएर रसातलमा पुग्नुमा यस्तै अपसंस्कृति जिम्मेवार छ ।

गुरुकुलमा शिक्षा आर्जन गरेर घर फर्कने बेला कृष्णले आफ्ना गुरु सन्दीपनी ऋषिलाई गुरु दक्षिणा माग्न भन्दा उनले प्रष्टै शब्दमा भनेका छन् कि शुल्क लिएर दिइने शिक्षा व्यापार हो, त्यसरी गरिने शिक्षाको व्यापारले समाजमा अराजकता र विकृति फैलाउंछ । तिमीलाई मैले दिएको शिक्षाको उपयोग समाजको हितमा गर । समाजको अहित हुने रहेछ भने जस्तोसुकै परिस्थितिमा पनि त्यसको दुरुपयोग नगर्नू । आज संसारभरि शिक्षाको व्यापार फस्टाउंदैछ र समाज उत्थानको होइन पतनको दिशातर्फ बढिरहेको छ । राम समेतका दाजुभाइको जब गुरुकुलमा पढाइ समाप्त भयो, तब राजा दशरथले मणिमाणिक्यको ठूलो उपहार महर्षि वशिष्ठको आश्रममा पठाए । छक्क पर्दै ऋषिले यो के हो, किन ल्याएको भनेर प्रश्न गर्दा दशरथका महामन्त्रीले राजकुमारहरुको गुरुदक्षिणा हो भने । तर ऋषि वशिष्ठले त्यो धन लिन अस्वीकार गरिदिए । गुरुले नलिने भए आश्रमको कोषमा जम्मा गरिदिन महामन्त्रीले गरेको अनुरोधको पनि कडा शब्दमा बिरोध गर्दै भने, राजाले धन संग्रह गरे जनता गरीब हुन्छन् र राष्ट्र गरीब हुन्छ, मन्त्रीले धन संग्रह गरे भ्रष्टाचार र अराजकता फैलन्छ र गुरुले धन संग्रह गरे शिक्षाको मूल्य मान्यतामा ह्रास आउंछ र मूर्खहरुको साम्राज्य फैलन्छ ।

आज हाम्रो समाज यो अवस्थामा पुग्नुको पछाडि कारण के रहेछ भन्ने जान्न यस कथनलाई मनन गर्नु जरुरी छ । आत्मैदेखि गुरु आ१ा पालना गर्ने हाम्रो पूर्वीय परम्परा छ । तर गुरु र शिष्यका बीच सदैव हार्दिक सुमधुर र कदरयोग्य सम्बन्ध नै रहन्छ भन्न सकिंदैन । तक्षशीलापछिको संसारको दोश्रो पुरानो विश्वविद्यालय नालन्दाका सर्वोत्कृष्ट छात्र आचार्य माडवत अहिंसकलाई अंगुलीमाल बनाउने उनकै गुरु हुन् । विश्वविद्यालयका लफंगा छात्रले माडवतको गुरुमातासंग अनुचित सम्बन्ध छ भनेर आचार्यलाई लगाएको झूटो पोलका कारण बदलाको भावनाबाट प्रेरित भई गुरुले हजार व्यक्तिको हत्या गरी तिनको औंलाको माला गुरु दक्षिणाको रुपमा ल्याउन आदेश दिए । त्यसरी एकजना गुरुले आफ्नै एउटा होनहार छात्रलाई हत्यारा बनाए । त्यस्ता पनि गुरु हुन्छन् जो आफ्ना शिष्यसंग बदला लिन खोज्छन्, इबि सांध्न खोज्छन् । ती गुरु नभएर गुरुको नाममा कलंक हुन् ।

निस्वार्थ भावले शिक्षा सेवामा समर्पित राई सर निर्विकार र निस्कलंक हुनुहुन्थ्यो । समाजलाई सत्मार्गमा हिंडाउन उहांजस्ता पात्रको खांचो आजको युगमा पनि उत्तिकै छ । अन्धकारको युगमा शिक्षाको उज्यालो छर्ने राई सरहरुको खांचो आजको पथभ्रष्ट विकृतिजन्य र नैतिक मूल्यच्युत समाजमा झन टड्कारो रुपले खड्केको छ । तर आजभन्दा साँढे तीन दशकअघि परमधाम हुनुभएका राई सरको पुनरागमन त सम्भव छैन । अब हामीले अरु सयौं हजारौं राई सरहरु जन्माउने प्रण गर्नुपर्छ । कर्तव्यपरायण, निर्भिक र निष्ठावान शिक्षक तब जन्मन्छन् जब शिक्षालाई व्यापारको माल बनाउन बन्द गरिन्छ । अहिले सरकार नै शिक्षालाई बिक्रीको माल (कमोडिटी) बनाइरहेको छ । यसलाई रोक्न जबर्जस्त आन्दोलनको खांचो छ । हामीले गुरुको महिमा बुझ्नुपर्छ, अहिले जतिसुकै ठूलो ओहोदामा पुगे पनि, जति सम्पत्ति कमाए पनि हामी नांगै जन्मिएका थियौं, गाउंको धुलोमैलोमा खेलेरै हुर्केबढेका हौं । हामीलाई आंखा खोलिदिने, बाटो देखाइदिने राई सर र अरु सयौं राई सरहरुको हामीप्रति गुरुऋण छ ।

त्यसप्रति हामी कृतज्ञ हुन जान्नुपर्छ । त्यसका लागि उहांको निष्ठा, त्याग, इमान्दारीलाई दाउमा लगाएर होइन पवित्र भावनाले उहांले स्थापना गरेको बिद्यालयमा उहांकै नाममा एउटा पुस्तकालय स्थापना गर्न सकिन्छ । बिस्तारै त्यसलाई इ लाइब्रेरी बनाउने दिशामा लान सकिन्छ । त्यसले उहांको नाम रोशन हुनुका साथै समाज पनि लाभान्वित हुन सक्छ । उहांको गाउंमा उहांकै नामबाट शिक्षण संस्था खोल्ने र उहांले स्थापना गरेको स्कुलमा राई सर छात्रवृत्ति कोषको स्थापना गरेर बिपन्न, गरीबलाई अध्ययनमा मद्दत गर्ने गर्न सकिन्छ । यसरी गुमनाम भइसक्नुभएका हाम्रो भेगका शिक्षाका धरोहरलाई जीवित राख्न सम्भव छ । भनिन्छ, शिक्षक र डाक्टरले जे भन्छन् त्यो गर्नू, उनीहरुले जे गर्छन् त्यो नगर्नू तर राई सर त्यस्तो आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । उहांका हरेक कुरा अनुकरणयोग्य हुन्थे । उहां एउटा शिक्षकको रुपमा मात्र होइन समाजको सदस्यको रुपमा पनि आदर्शवान व्यक्ति हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्