नेपालको आर्थिक समृद्धिका लागि लागि पर्यटन महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह



काठमाडौं।कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताएका छन्।

‘पर्यटन र शान्ति’ भन्ने मूल नाराका साथ मनाइएको ४५ औं विश्व पर्यटन दिवसका अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले देशको आर्थिक तथा सामाजिक विकास लागि शान्ति अपरिहार्य रहे जस्तै शान्ति बिना पर्यटनको विकास समेत सम्भव नभएको धारणा राखे।

‘पर्यटनलाई नेपालको विकासको इन्जिनको रूपमा लैजान सकिन्छ। यसको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिवद्द्ता यो अवसरमा व्यक्त गर्न चाहन्छु,’ उनले भने।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने गरि राज्य र निजी क्षेत्र मिलेर काम गर्ने बताए।

मन्त्री पाण्डेले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुको विकल्प नरहेको बताए।
नीतिगत सुधार र व्यवसायिक बजार योजना सहित निगम सुधार गर्नु पर्ने उनको भनाइ छ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूण कुमार चौधरीले पर्यटनको विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए।उनका अनुसार पर्यटनमैत्री नीति बनाउनेतर्फ सरकारले काम गरिरहेको छ।

मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष गणेश प्रसाद पाण्डेले पर्यतीय पर्यटनमा नेपाल विश्वमा नै अग्रणी रहेको बताए।
पर्यटनबाट थप लाभ लिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्र पर्यटनको विकास सम्भव भएको बताए।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौंको लगानी रहेका र करिब १० लाख व्यक्तिलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटनलाई प्राथमिकतामा राखेर अगाडी जानु पर्ने धारणा राखे।

होटल व्यवसायी संगीता श्रेष्ठले नेपालमा पर्यटनको व्यापक सम्भावना भएकाले पर्यटनबाटै समृद्धिको यात्रा तय गर्न सकिने बताइन्।

४५ औं विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ।file foto

प्रतिक्रिया दिनुहोस्