एभरेष्ट म्याराथुनमा जिल्लाबाट सहभागी हुने धावकलाई ५ लाख सहयोग गर्ने सोलुदुधकुण्डको निर्णय
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले जन्तरधापबाट शुरु हुने एभरेष्ट म्याराथुन दौडमा सोलुखुम्बु जिल्लाबाट सहभागी हुने धावकहरुलाई सहयोग स्वरुप रू. ५ लाख सहयोग गर्ने निर्णय गरेको छ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिका बैठकले पर्यटन प्रवर्द्धनका लागि नोभेम्बर १३ देखि १९ सम्म आयोजना गरिने सो म्याराथुनमा सहभागी हुने जिल्ला भित्रका धावकलाई सो रकम प्रदान गर्ने निर्णय गरेको हो।बैठकले थेक्छेन पेमा छोलिङ गुम्बा, सल्लेरीको आयोजनामा हुने थेक्छेन पेमा छोलिङ गुम्बा, सल्लेरी देखि नगर क्षेत्र भित्रका अर्को गुम्बासम्मको म्याराथुन दौड प्रतियोगिता संचालनका लागि सहयोग स्वरुप नगद ५ लाख आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको नगरपालिकाका प्रबक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन्।
प्रबक्ता शेर्पाले जारी गरेको बिज्ञप्तिमा जनाइए अनुसार बैठकले तरकारी पकेट विकास कार्यक्रमका लागि विनियोजित बजेट रू. १२ लाखबाट कार्यक्रम सञ्चालनका गर्न सोलुदुधकुण्ड नगरपालिका ६ नं. वडा र रैथाने बाली प्रवर्द्धन कार्यक्रमका लागि विनियोजित बजेट रू. ६ लाखबाट कार्यक्रम सञ्चालन गर्न नगरपालिका १० नं. वडा छनौट गर्नुका साथै नगरपालिका क्षेत्रमा बाढीपहिरो तथा आगलागी जस्ता विपदबाट क्षति भएका प्रभावित ६ घरधुरीलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ।
चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा कार्यक्रमको बर्गीकरण गर्नुका साथै वार्षिक खरिद योजना स्वीकृत गरिएको पनि प्रबक्ता शेर्पाले उल्लेख गरेका छन्।
यसैगरी,नगरपालिकाबाट आगामी आर्थिक वर्षामा सञ्चालन गरिने प्रमुख आयोजनाहरुको लागि सबै वडाहरुबाट प्राप्त आयोजनाहरुको प्राथमिकीकरणको आधारमा DPR निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले सरुवा भइ गृहमन्त्रालय जान लागेकी सोलुदुधकुण्ड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत उपसचिव कोपिला राईले सेवा प्रवाहमा पुर्याएको योगदानको उच्च मूल्यांकनसहित धन्यवाद ज्ञापन सहित सोलुदुधकुण्ड नगरपालिका नगर कार्यपलिकाको तर्फबाट उज्जवल भविष्य तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको प्रबक्ता शेर्पाद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

