नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै
काठमाडौं । श्रावण कृष्ण चतुर्दशी,नेवार समुदायले घण्टाकर्ण अर्थात् गठेमंगल पर्व मनाउँदैछन्।गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट,निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

संस्कृतिविद्का अनुसार छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास गरिन्छ । स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगेर जलाउने गरिन्छ ।
गोपाल वंशावलीअनुसार गठामंगललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइन्छ । यसलाई नवविवाहित स्त्रीपुरुषले दर्शन गर्नुपर्ने चलन छ ।यस्तो परम्परा अहिले पनि उपत्यकाका तीनवटै शहर काठमाडौं, ललितपुर र भक्तपुरका भित्री भागमा मनाउने गरिन्छ ।
यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ। आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्व मान्दै आएका छन् ।
यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गर्ने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।

