घट्यो पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य



काठमाडौं,१६ कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँका दरले मूल्य घटाएको हो।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको सुधारसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो।

आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा र हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा घटेर आएको निगमले जनाएको छ। एलपी ग्यासको खरिद मूल्यसमेत घटेर आएको निगमको भनाइ छ।

निगम सञ्चालक समितिको २०८३ असार १६ गतेको निर्णयअनुसार २०८३ असार १७ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको हो।

त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाइएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलर घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभेन पोइन्ट (लागत बराबरको मूल्य) कायम गरिएको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण पछिल्ला केही महिनादेखि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्