प्राज्ञ उन्नती बोहरा ‘शीला’ सङ्गीत समर्पण साँझमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित
काठमाडौं,१६ कात्तिक । वरिष्ठ गीतकार तथा प्राज्ञ उन्नती बोहरा ‘शीला’को छ दशक लामो साहित्यिक तथा सांगीतिक यात्राको अवसरमा आयोजित ‘फर्की आऊ शान्ति तिमी उन्नती शीला सङ्गीत समर्पण साँझ–२०८३’ सम्पन्न भएको छ।

उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चको आयोजनामा आइतबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा सङ्गीत रत्न शम्भूजीत बासकोटालाई एक लाख ५१ हजार रुपैयाँ नगदसहित अभिनन्दन गरिएको छ।
नेपाली साहित्य र सङ्गीत क्षेत्रमा विगत छ दशकदेखि सक्रिय गीतकार शीलाका चर्चित गीतहरू कार्यक्रममा प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुत गरिएका थिए। नेपालका ख्यातिप्राप्त १३ जना गायक–गायिकाले उनका सिर्जनामा स्वर दिएका थिए।
कार्यक्रममा मीरा राणा, प्रमोद खरेल,कर्णदास, आनन्द कार्की, जगदीश समाल, सुरेश लामा, विश्व नेपाली, टीका प्रसाईं, बानिका प्रधान, सङ्गीता राणा प्रधान, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य र सरिता शाहीले शीलाका गीत प्रस्तुत गरेका थिए। २१ जना वाद्यवादकको नेतृत्व तथा सङ्गीत संयोजन वरिष्ठ सङ्गीतकार मनोहर सुनामले गरेका थिए।
शम्भूजीत बासकोटा र दीपक जङ्गमको सङ्गीत रहेको ‘जननी जन्मभूमिश्च’, ‘कहीँ कतै लडखडाए भने’, ‘फर्काइदेऊ मेरा प्रेमपत्रहरू’, ‘बाँध बाँध मलाई मायाले बाँध’, ‘भुल भयो मबाट’, ‘यति गहिरो चोट’, ‘सेती खोला सँगसँगै तरौँला’, ‘डाँडाकाँडा ढकमक ढाकी’, ‘ए नील गगनमा उड्ने पन्छी’ र ‘गुराँसको रङ रातो’ लगायतका चर्चित गीत प्रस्तुत गरिएका थिए।
मुन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता मञ्चकी अध्यक्ष प्राज्ञ उन्नती बोहरा ‘शीला’ले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथि काइँला र अभिनन्दित व्यक्तित्व बासकोटाले विशेष सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा गीतकार शीलाले आफूले जीवन नै गीत सिर्जना र साहित्यमा समर्पित गरेको बताइन्। दर्शकको उपस्थितिले सिर्जनाको उचाइ अझ बढाएको उल्लेख गर्दै उनले उक्त सांगीतिक साँझ आफ्ना श्रीमान् दीपक बोहरा र छोरी चाँदनी बोहराप्रति समर्पित रहेको बताइन्।
कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक संस्थाले गीतकार शीलालाई सामूहिक बधाईपत्र प्रदान गरेका थिए। बधाईपत्र प्रदान गर्ने संस्थाहरूमा साहित्यिक पत्रकार संघ, गुन्जन नारी साहित्य संस्था, शंकर लामिछाने प्रतिष्ठान, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, रमाकृष्ण सिर्जना प्रतिष्ठान, नानी साहित्य प्रतिष्ठान, प्रमोदराज पाण्डे–सावित्री पाण्डे स्मृति प्रतिष्ठान, भद्रकुमारी घले सेवा सदन, मानचित्र पब्लिकेशन प्रा.लि., वनिता साहित्यिक पत्रिका र दोभान साहित्यिक पत्रिका रहेका थिए।
यसैगरी गायिका तथा सङ्गीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, चलचित्र सम्पादक नरेन्द्र खड्का, वरिष्ठ गायक कर्णदास, कलापत्रकार राजाराम फुयाल र डब्बु क्षेत्री, सङ्गीतकार तथा संयोजक मनोहर सुनाम र अमूल कार्की ढली, फोटोग्राफर मनोज शाही तथा नृत्याङ्गना प्रितिशा केसीलाई जनही २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा सङ्गीतकार दीपक जङ्गम, गीतकार राजेन्द्र थापा र श्रीपुरुष ढकाल, अभिनेता नीर शाह, अभिनेत्री वसुन्धरा भुसाल, साहित्यिक पत्रकार संघका अध्यक्ष तथा मञ्चका संरक्षक राधेश्याम लेकाली, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, वरिष्ठ गायिका देविका बन्दना र विमला राई, वरिष्ठ सङ्गीतकार राजु सिंह तथा चलचित्र निर्माता प्रदीप उदयलगायत कला, साहित्य, राजनीति र समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
गीतकार शीलाका ‘कोसेली उसैलाई’, ‘भावनाका तरङ्ग’, ‘अदृश्य घाउ’ लगायतका कृति तथा ‘सिक्काका दुई पाटा’ उपन्यास प्रकाशित छन्। महिला गीतकार संघकी संस्थापक अध्यक्षसमेत रहेकी शीला शंकर लामिछाने प्रतिष्ठान, साहित्यिक पत्रकार संघ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलगायत विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा सक्रिय छिन्।
साहित्य र सङ्गीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई प्रबल गोरखा दक्षिणबाहु, अनेसास विशिष्ट सम्मान, म्युजिकखबर सङ्गीत शीला सम्मान र नेसनल क्यापिटल लाइफटाइम अचिभमेन्ट अवार्डलगायत दर्जनौँ सम्मान प्रदान गरिएको छ।
कार्यक्रमको सहजीकरण पत्रकार हेम सुवेदी र सेसेमी लिम्बूले गरेका थिए।


