बागमतीको मुख्यमन्त्रीका लागि लामाले गरे दावी,को को बन्दैछन् मन्त्री ?



हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेस गरेका हुन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्  । 

नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका लामाको मन्त्रीमण्डलमा नेकपा एमालेले ६ जना मन्त्री पाउंदैछ।त्यसका लागि नेकपा एमालेले बागमती प्रदेश सरकारमा सामेल हुने ६ जना मन्त्रीको नाम टुंगो समेत लगाएको बताईएको छ।

श्रोतका अनुसार एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो ।

एमालेले यो पटक मन्त्री बनाउदा नयाँलाई अवसर दिएको छ । मन्त्री बन्ने ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।

त्यस्तै कांग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्