बागमती र लुम्बिनीमा नयाँ सरकार गठनको सुरसार



काठमाडौं।बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएसंगै दुबै प्रदेशमा नयाँ सरकार गठनको सुरसार सुरु भएको छ ।प्रदेशमा बिश्वासको मत गुमेसंगै माओवादी केन्द्रबाट नियुक्त दुबै मुख्यमन्त्रीले आईतवार राजीनामा गरेसंगै दुबै प्रदेशमा नयाँ सरकार गठनको नयाँ प्रक्रिया सुरु हुन लागेको हो।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसंगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

बागमतीमा नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेस र एमालेबीच सहमति छ।

उता,लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि राजीनामा दिएका छन्।प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै महराले राजीनामाको घोषणा गरेका हुन्। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिने निर्णयमा पुगेको उनले बताए।

नेकपा (एमाले)ले गत असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि महराले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। त्यसका लागि आइतबार प्रदेश सभाको बैठक बोलाइएको थियो।

प्रमुख दुई दल एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएकाले विश्वासको मत नपाउने भएपछि महराले राजीनामाको बाटो रोजेका हुन्।

लुम्बिनीमा एमालेका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्